काठमाडौं । बजाज अटोले इलेक्ट्रीक दुई पाङ्ग्रे सवारीसाधन उत्पादनमा आक्रामक ‘मूभ’ लिने देखिएको छ । कम्पनीले पछिल्लो समय धमाधम नयाँ ट्रेडमार्क दर्ता गरिरहेको छ ।
बजाज अटोले हालै मात्र दुई नयाँ नाम दर्ता गराएको छ । बजाज अटो भारतीय बजारमा दुई पाङ्ग्रे विक्री गर्ने कम्पनीमा चौथो स्थानमा छ भने निर्यात गर्नेमा पहिलो नम्वरमा छ । बजाज अटो तीन पाङ्ग्रे सवारी उत्पादनमा पनि पहिलो स्थानमा छ ।
बजाजले जुन महिनाको विक्रीमा १९.६ प्रतिशतले मार्केट गुमाएको छ । गतवर्ष जुनमा १ लाख ५५ हजार यूनिट मोटरसाइकल भारतमा विक्री गरेकोमा यो वर्ष जुनमा १ लाख २५ हजार यूनिट मात्र विक्री गर्न सकेको हो । बजाजले आफ्नो घरेलु बजारमा व्यापार घटेको छ भने अन्तर्राष्ट्रिय बजारमा ब्यापार बढेको छ । कम्पनीले जुन २०२२ मा २३ प्रतिशत ज्यादा निर्यात गरेको हो ।
घरेलु बजारमा ब्यापार घटेसँगै कम्पनीले नयाँ उत्पादन बजारमा ल्याउने तयारी गरिरहेको बुझ्न सकिन्छ । बजाज अटोले केही समय अघि इलेक्ट्रीक सावरी साधन उत्पादनका लागि अर्कुडीमा छुट्टै प्लान्ट स्थापना गरेको छ ।
बजाज अटो इलेक्ट्रीक तथा आइसी दुबै इन्जिनका दुई पाङ्ग्रे सवारी साधनमा फोकस हुनेछ । यसै क्रममा कम्पनीले केही समय अगाडि पल्सर एलन र पल्सर एलिगान्जको ट्रेडमार्क दर्ता गराएको थियो ।
हाल कम्पनीले दुई नयाँ नाम दर्ता गराएसँगै बजाज अटोले २०२३ को सुरुवातमा आक्रामक रुपमा बजारमा नयाँ इलेक्ट्रीक मोटरसाइकल र स्कुटर ल्याउने अनुमान गर्न थालिएको हो ।
बजाजले हाल दर्ता गराएको नयाँ ट्रडमार्क बजाज टेक्नीक र टेक्नीसीया नाम रहेको छ । यसअघि डाइनामो नामसमेत दर्ता गराएको थियो ।
यी तीनै नाममा कम्पनीले इलक्ट्रीक स्कुटर ल्याउन सक्ने अनुमान रहेको छ । बजाजले भारतीय बजारको ब्यापारलाई मध्यनजर गर्दै कम रेन्जका इलेक्ट्रीक स्कुटर ल्याउन सक्नेछ । हाल बजाजसँग एक मात्र इलेक्ट्रीक स्कुटर चेतक उपलब्ध छ । यसलाई कम्पनीले प्रिमियम सेग्मेन्टमा विक्री गर्दै आएको छ ।
योसँगै बजाजले आफ्नो सर्वाधिक सफल नाम पल्सरलाई इलेक्ट्रीकमा ल्याउने घोषणा यसअघि नै गरिसकेको छ । कम्पनीले केटीएम तथा हस्कभर्नासँग सहकार्य गरेर नयाँ इलेक्ट्रीक स्कुटर तथा मोटरसाइकलका लागिसमेत काम गर्दै आएको छ ।


