काठमाडौं । महिन्द्राको बहुप्रतिक्षित स्कर्पियोले रेकर्ड बुकिङ पाएको छ । महिन्द्राले भारतीय बजारको लागि आज बिहान ११ बजेबाट अनलाइन बुकिङ खुल्ला गरेको थियो । कम्पनीले बुकिङ खुल्ला गरेको ६० सेकेन्डमा नै २५ हजार बुकिङ पाएको तथ्यांक सार्वजनिक गरेको छ ।
कम्पनीले करिब ३० मिनेट बुकिङ खुल्ला गरेको थियो । ३० मिनेटमा १ लाख यूनिट बुकिङ भएको जनाएको छ । जुन दिल्लीको एक्स शोरुम मूल्य अनुसार १८ हजार करोड भारतीय रुपैयाँ बराबर हो । कम्पनीले नयाँ स्कर्पियो बुकिङ गर्ने ग्राहकसँग २१ हजार रुपैयाँ बुकिङ रकम वापत लिएको छ ।
अहिले बुकिङ गर्ने ग्राहकले आफ्नो भेरियन्ट, कलर अप्सन लगायतका विषय अगष्ट १५ तारिखसम्म एकिन गरिसक्नु पर्ने महिन्द्रा एण्ड महिन्द्राले जनाएको छ ।
स्कर्पियो एन भारतसँगै र नेपालमा पनि एक साथ सार्वजनिक भएको थियो । महिन्द्राले ब्यापक परिवर्तन गरेर ल्याएको स्कर्पियो एनमा नयाँ लोगो, नयाँ ग्रिल र नयाँ सुरक्षा फिचर लोडेड रहेको छ ।
नयाँ स्कर्पियो एनको क्याविन प्रिमियम छ । दुई कलरले सजिएको ड्यासबोर्ड, टप भेरियन्टमा दिइएको लेदर सिट, स्टेरिङ, डोर ह्याण्डल, एसी भेन्टर र सेन्टर कन्सोलमा दिइएको सिल्भर कलर क्रोमले यसको ड्यासबोर्ड निकै प्रिमियम देखिन्छ । साथै, सिटको कलरसँग म्याच गराएर ड्यासबोडमा पनि लेदर फिनिसिङ दिइएको छ ।
इन्फोटेन्टमेन्ट सिस्टमको दायाँ र वाँया नै एसी भेन्ट दिइएको छ । कम्पनीले नयाँ स्कर्पियो एनमा फुल डिजिटल इन्ट्रुमेन्ट क्लष्टर दिएको छ । यसमा सोनीको थ्रीडी साउन्ड सिस्टम पाउन सकिन्छ ।
निकै प्रतिक्षा गरिएको स्कर्पियो एन मोडल २.० लिटर पेट्रोल र २.२ लिटर डिजेल इन्जिन पाउन सकिन्छ । पहिलो पटक पेट्रोल इन्जिनमा आएको कारण धेरै पेट्रोल गाडी चाहनेको लागि पनि उत्कृष्ट र भ्यालु फर मनी मोडल सावित हुने अनुमान गर्न सकिन्छ ।
भारतमा रेकर्ड बुकिङ भएपनि अग्नी इनकर्पोरेटले नेपालमा यसको बुकिङ कहिले खोल्छ भन्ने एकिन भएको छैन ।


