ठूलो परिमाणमा गाडी र मोटरसाइकल किन्न प्रहरीको प्रस्ताव

काठमाडौं । सिथिल बनेको अटोमोवाइल व्यवसायमा केही भएपनि राहत निर्वाचनले दिने अनुमान गरिएको छ । विगत ६ महिनादेखि गाडी किन्ने ग्राहकलाई बैंकले कर्जा दिएका छैनन् भने सरकारले गाडी आयात नै रोक लगाएको छ ।

यसरी लामो समयदेखि मन्दीमा गएको अटोमोवाइल बजारमा आसन्न मंसिर ४ गते हुने निर्वाचन केन्द्रित भएर नेपाल प्रहरीले ७५१ वटा हलुका तथा ठूला सवारी खरिद गर्न प्रस्ताव गरेको छ । अहिले यो प्रस्ताव गृह मन्त्रालय हुँदै अर्थ मन्त्रालय पुगेको छ ।

प्रदेश र संघिय संसदको निर्वाचन एकै पटक घोषणा भएको र प्रहरीसँग गस्ती गर्नै पनि साधन किन्नु पर्ने भएकोले ७५१ यूनिट साना, ठूला गाडी किन्न प्रस्ताव गरिएको गृह मन्त्रालयले जनाएको छ । अब अर्थ मन्त्रालयको सहमतीपछि गाडी खरिद प्रक्रिया सुरु हुनेछ ।

अहिले नेपाल प्रहरीसँग एक हजार ५२९ साना र १५४ ठूला साधन छन् । निर्वाचनको लागि नै १ हजार ५९८ यूनिट मोटरसाइकल किन्न पनि प्रस्ताव गरिएको छ ।

यसअघि पनि नेपाल प्रहरीले सवारीसाधन किन्न प्रस्ताव गरेको भएपनि सरकारले बैसाखमा भएको स्थानिय निर्वाचनमा गाडी भाडामा लिन बजेट व्यवस्था गरेर नयाँ साधन किन्ने प्रस्ताव थन्काएको थियो ।


Back_to_top