काठमाडौं । होन्डाले अन्तर्राष्ट्रिय बजारमा फिट नामबाट विक्री गर्दै आएको ह्याचव्याक कार उत्कृष्ट मानिन्छ । जापानी कार निर्माताले विश्वभर फिट र ज्याज नामबाट विक्री गर्ने यो ह्याचव्याक माइलेजसँगै पावरको लागि पनि उत्कृष्ट मानिन्छ ।
सन् २०१९ मा पहिलो पटक हाइब्रिड इन्जिनमा उपलब्ध गराएको फिटले प्रतिलिटर पेट्रोल २८ किलोमिटरसम्म माइलेज दिने कम्पनीले दावी गरेको छ । यसलाई थप सुधार गर्दै कम्पनीले नयाँ भर्सन सार्वजनिक गरेको हो ।
हाइब्रिड कार सेग्मेन्टमा सर्वाधिक विक्री हुने फिटमा १.५ लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध रहेको छ । यसमा इलेक्ट्रीक मोटर र लिथियम आयोन ब्याट्री भएको कारण यसको कम्वाइन पावर १०७ हर्स पावर र २५३ एनएम टर्क रहेको छ ।
फेसलिफ्ट फिटमा अग्रेसिभ फ्रन्ट ग्रिल, प्रोमिनेन्ट एलइडी प्रोजेक्टर हेडल्याम्प, परिस्कृत बम्पर, गाडीको साइड र पछाडि दिइएको ग्लसी ब्ल्याक कलरले फिटलाई आकर्षक देखाएको छ ।

स्टेरिङ माउन्टेड प्याडल सिफ्टर र नयाँ ड्राइभ मोड सेलेक्टरले चालकलाई सहज बनाउने छ । ड्यासबोर्डमा भने ९ इन्चको इन्फोटेन्मेन्ट र ७ इन्चको डिजिटल क्लष्टर दिइएको छ ।
सेफ्टीका लागि यसमा होन्डाको सेन्सिङ एडीएएस स्ट्याण्डर्ड फिचरको रुपमा दिइएको छ । नेपाली बजारमा ज्याज नामबाट मात्रै होन्डाको ह्याचव्याक कार उपलब्ध रहेको छ । यस्तोमा ज्याज हाइब्रिड आउने वा नआउने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

