थोरै पैसा हुनेलाई छानेर मोटरसाइकल किन्ने मौका

काठमाडौं । मोटरसाइकलको विक्रीमा गिरावट आएसँगै विक्रेता कम्पनीहरुले विभिन्न फाइनान्स स्कीम ल्याइरहेको छन् । विभिन्न कम्पनीहरुले ल्याएको स्कीम अनुसार डाउन पेमेन्ट वापत थोरै कम भएपनि छानेर मोटरसाइकल किन्ने मौका प्रदान गरेका छन् ।

बजारमा तरलता अभाव बढेसँगै अधिकांश विक्रेता कम्पनीहरुले शून्य प्रतिशत व्याजदरमा उपलब्ध गराउँदै आएको स्कीम हटाएर थोरै डाउन पेमेन्ट स्कीम संचालन गरिरहेका छन् ।

अहिले धेरैजसो कम्पनीहरुले २० देखि ३० प्रतिशत डाउन पेमेन्ट वा ६ प्रतिशत ब्याजदरमा कर्जा सुविधा उपलब्ध गराएका छन् । ५० प्रतिशत रकम डाउन पेमेन्ट गर्न सक्ने ग्राहकले ६ प्रतिशत व्याजदर र २० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले १२ देखि १७ प्रतिशतसम्म ब्याज तिर्नु पर्छ ।

होन्डाको स्कीम

स्याकार कम्पनीले सबैभन्दा कम ब्याजदर ५.९९ प्रतिशतमा कर्जा उपलब्ध गराउने स्कीम ल्याएको छ । त्यस्तै कम्पनीले ३० प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने स्कीम पनि दिएको छ ।

ब्याजदर ५.९९ प्रतिशतको स्कीममा होन्डा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले ६० प्रतिशत डाउन पेमेन्ट तिर्नु पर्छ । त्यस्तै ३० प्रतिशत डाउन पेमेन्ट गर्ने ग्राहकले २ वर्षको कर्जा सुबिधा प्राप्त गर्नेछन् ।

बजाजकाे स्कीम

बजाज मोटरसाइकलको लागि नेपालको आधिकारीक विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले ६ प्रतिशत ब्याजदर तथा २५ प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको छ ।

यो स्कीम अन्तर्गत ६ प्रतिशत ब्याजदरमा मोटरसाइकल किन्ने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । यो डाउन पेमेन्ट स्कीममा मोटरसाइकल किन्ने ग्राहकल १८ महिनामा कर्जा रकम तिर्नु पर्छ ।

त्यसैगरी २५ प्रतिशत डाउन पेमेन्ट गरेर मोटरसाइकल खरिद गर्दा २ वर्षको कर्जा अबधि पाउन सकिन्छ । यसमा भने १२ प्रतिशत ब्याज तिर्नु पर्छ ।

हिरोकाे स्कीम

एनजीएम हिरोले आफ्ना मोटरसाइकल तथा स्कुटरहरु ९ प्रतिशत ब्याजदरमा किन्न सकिने स्कीम तथा सून्य डाउन पेमेन्ट स्कीमसमेत दिएको छ ।

कम्पनीले ५० प्रतिशत डाउन पेमेन्ट गरेर तोकिएको समयमा घटबढ नगरी किस्ता बुझाउँदा ९ प्रतिशत ब्याजमा मोटरसाइकल विक्री गर्दै आएको छ । त्यस्तै सून्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल खरिद गर्दा १६ प्रतिशत व्याज तथा २ वर्षको कर्जा अबधि उपलब्ध गराउँदै आएको छ ।

यामाहाकाे स्कीम

यामाहा मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी एमएडब्ल्यू इन्टरप्राइजेजले थोरै डाउन पेमेन्ट स्कीम दिइरहेको छ । यो स्कीम अन्तर्गत ग्राहकले ४० प्रतिशत डाउन पेमेन्ट गरेर १८, २४ र ३० महिनाको अवधि छनोट गर्न सक्नेछन् । यो स्कीममा ग्राहकलाई १६ प्रतिशतसम्म ब्याज पर्न आउँछ ।

टीभीएसकाे स्कीम

जगदम्वा मोटर्सले २० प्रतिशत डाउनपेमेन्ट गरेर टीभीएसका मोटरसाइकल खरिद गर्न सकिने स्कीम ल्याएको छ । जगदम्बा मोटर्सले ल्याएको नयाँ स्कीम अनुसार ग्राहकले टीभीएसको मोटरसाइकल तथा स्कुटर २० प्रतिशत डाउन पेमेन्ट किन्न सक्नेछन् । कम्पनीले यो स्कीममा २ वर्षको कर्जा अबधि उपलब्ध गराएको छ ।


Back_to_top