सस्ता ईभीको संख्या बढ्दै, हेनरी र वूलिङ बीच कडा टक्कर हुने

काठमाडौं । नेपाली बजारमा एकपछि अर्को विद्युतीय कारको आयात भइरहेको छ । कुनै समय विद्युतीय कार भनेकै साना ह्याचव्याक हुन्छन् भन्ने युक्ती नै सुरु भएको थियो । तर, सन् २०१८ पछि बजारमा आएका एकपछि अर्को एसयूभीले सफलता पायो ।

एसयूभीले सफलता पाएपनि साना कार बजारमा ल्याउन भने कम्पनीहरुले छाडेनन् । थोरै यूनिट कार ल्याउने, त्यसलाई बजारमा विक्री गर्ने र त्यसपछि थप साधन नल्याउने परिपाटी मौलाएसँगै ग्राहकमा साना गाडीको विषयमा निकै असमान्जस्यता पैदा हुँदै आएको छ ।

चीनमा अहिले १०० भन्दा धेरै ब्राण्डले विद्युतीय कार उत्पादन गर्दै आएका छन् । ती १०० मध्ये नामचलेका ब्राण्ड २० भन्दापनि कम छन् । यस्तोमा नेपाली ब्यापारीहरुले निर्माणको हिसावले कमजोर र प्रयोगका हिसावले कमसल गाडी ल्याएर यहाँ विक्री गर्दा समस्या निम्तने देखिएको छ ।

यसअघि बजारमा आएका ई८, ईभीएम७, ईभी सेभेन, महिन्द्रा इटुओ जस्ता मोडल बजारबाट बाहिर पुगिसकेका छन् । यसका बाबजुद पनि एकपछि अर्को नयाँ मोडल नेपाल आइरहेका छन् ।

नेपाली बजारमा विक्रीको तयार रहेको हेनरी र इलेक्ट्रा प्लससँगै विश्वमै चर्चा बटुल्न सफल सिटी कार वूलिङ नेपाल प्रबेश गर्न लागेको छ । योसँगै अन्य थुप्रै ब्राण्डले विद्युतीय कार नेपाल ल्याउन प्रयत्न गरिरहेका छन् ।

आउने क्रममा रहेका र निकट भविष्यमा आउने ब्राण्ड मध्ये सिटी कारको रुपमा वूलिङ एयर र हेनरी टाइगर मोडल बीच कडा टक्कर हुने देखिन्छ ।

यी दुई कारमा यस्ता छन् फरक

पायोनियर वर्ल्ड वाइड प्रालिले तीन महिना अघि नेपाल ल्याएको ह्याचव्याक कार ‘हेनरी’को निकै राम्रो परिक्षण भएको कम्पनीले जनाएको छ । कम्पनीले यसको मूल्य २३ लाख रुपैयाँ हाराहारी पर्ने जानकारी दिएको थियो ।

वूलिङ मिनि सन् २०२० बाट चीनमा उत्पादन सुरु भएको मोडल हो । अमेरिकी अटो जाइन्ट जनरल मोटर्स र चीनको सबैभन्दा ठूलो गाडी उत्पादक ग्रुप एसएआईसीको समेत लगानी रहेको छ । यसलाई नेपाली बजारमा बज्र ग्रुपले नेपाल ल्याउने घोषणा गरेको हो ।

कम्पनी स्रोतका अनुसार हेनरी आगामी १५ दिन भित्री नेपालमा विक्री सुरु हुनेछ भने वूलिङ नेपालको लागि इन्डोनेशियाबाट हिडेको छ । हेनरीले आफ्नो गाडी विक्री गर्न काठमाडौंको उत्तरढोकामा शोरुम बनाइरहेको छ । उता वूलिङ बज्रको नक्सालमा रहेको शोरुमबाट विक्री हुनेछ ।

सहरी क्षेत्रको लागि उपयुक्त हेनरी कारको लम्बाई ३३८० एमएम, चौडाई १४९९ एमएम र उचाई १६१० एमएम रहेको छ । उचाई र पछाडिको डिजाइनको आधारमा यसलाई ‘टलह्याच’ पनि भन्न सकिन्छ । कम्पनीले यसमा साइज अनुसार निकै लामो २४४० एमएमको ह्वीलवेस दिएको छ । ग्राहकले यसमा सेलेरियो वा सेन्ट्रोमा जस्तै १६५ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सक्नेछन् ।

सानो साइज, राम्रो रेन्ज र सुरक्षा फिचरमा पनि राम्रो भएको कारण चीनमा मात्रै दुई वर्षमा ७ लाख यूनिट वूलिङ विक्री भएको छ । यो मिनि कार हेनरीको तुलनामा सानो छ । यसको लम्बाई २९७२ एमएम, चौडाई १५०६ एमएम र उचाई १६३० एमएम रहेको छ ।

हेनरी टाइगर मोडलमा रहेको १६.५ किलोवाट आवरको लिथियम आयोन ब्याट्रीलाई एक पटक फुल चार्ज गर्दा १८५ किलोमिटरसम्म चलाउन सकिन्छ । यसमा अधिकतम ३५ किलोवाट क्षमताको मोटर दिइएको छ । यो ईभीमा रियर ह्वील ड्राइभ सिस्टममा उपलब्ध हुन्छ ।

नेपाल आउने वूलिङ एयर दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसको कम रेन्ज दिने स्टायडर्ड भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री रहने छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै रहने छ । यसले एक पटकको फुल चार्जमा २०० किमि रेन्ज दिने कम्पनीले दावी गरेको छ ।

लङ रेन्ज मोडल भने २८.४ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुनेछ । यसमा मोटर पनि ५० किलोवाट क्षमताको दिइएको छ । यसले एक पटकको फुल चार्जमा ३०० किमि रेन्ज दिने कम्पनीको दावी छ ।

दुबै विद्युतीय कारमा अत्याधुनिक टेक्नलोजीमा आधारीत फिचर उपलब्ध रहेका छन् । इलेक्ट्रीक पावर स्टेरिङ, ७ इन्चको डिजिटल क्लष्टर, पीयु लेदर सिट, पावर विन्डो, डाइनामिक गाइड लाइन सहितको रिभर्स क्यामेरा, रिभर्स सेन्सर, १३ इन्चको आल्मुनियम ह्वील जस्ता फिचर दिइएको छ । थ्री प्वइन्ट सिट बेल्ट, एबीएस, इबीडी र हिल होल्ड एसिस्ट जस्ता फिचर दुबै कारमा छन् ।

रेन्ज धेरै भएको कारण सानो भएपनि वूलिङको मूल्य केही महंगो हुने अनुमान गरिएको छ ।


Back_to_top