अझै पाइन्छ ३ लाखभन्दा कम मूल्यमा २०० सीसीसम्मका मोटरसाइकल

काठमाडौं । मोटरसाइकलको मूल्य लगातार उकालो लाग्दै गएको छ । पछिल्लो समय ३ लाखभन्दा कम मूल्यमा १२५ सीसीका मोटरसाइकल मात्रै पाउने अवस्था छ ।

बजारमा उपलब्ध केही ब्राण्डले विक्री गर्ने १५० देखि २०० सीसी क्षमताको मोटरसाइकल अझै पनि ३ लाख रुपैयाँभन्दा केही कम मूल्यमा किन्न पाइन्छ ।

बजारमा उपलब्ध ३ लाखभन्दा कम मूल्यका १५० सीसीदेखि २०० सीसीसम्मका मोटरसाइकलको बारेमा हामीले यहाँ चर्चा गरेका छौं ।

पल्सर एनएस १६०

बजाज पल्सर एनएस १६० दुई भेरियन्टमा विक्री हुँदै आएको छ । कम्पनीले एनएस १६० को एबीएस र नन् एबीएस भर्सन विक्री गर्दै आएको छ । कम्पनीले विक्री गर्ने नन् एबीएस भर्सनको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

यो बाइकमा १६० सीसी फोर स्ट्रोक आयल कुल्ड इन्जिन लगाइएको छ । यसले ८५०० आरपीएममा १५.५ पीएस पावरका साथै ६५०० आरपीएममा १४।६ एनएम टर्क उत्पादन गर्छ । बाइकमा १७ इन्च अलोय ह्वील दिइएको छ ।

आरटीआर १६० फोर भी

आरटीआर १६० फोर भीको ५ भेरियन्ट नेपाली बजारमा विक्री हुँदै आएको छ । कम्पनीले विक्री गर्ने अपाचे आरटीआर १६० फोर भीको दुई भेरियन्ट ३ लाखभन्दा कम मूल्यमा उपलब्ध रहेको छ ।

यसको फ्रन्ट डिस्क र रियर ड्रम ब्रेक भएको भेरियन्ट (एफडी)को मूल्य २ लाख ७२ हजार ९०० रपैयाँ रहेको छ भने दुबै तर्फ डिस्क ब्रेक भएको (आरडी) भेरियन्टको मूल्य २ लाख ९० हजार ९०० रुपैयाँ रहेको छ ।

यो मोटरसाइकलमा १५९.७ सीसी सिंगल सिलिण्डर, ४ स्ट्रोक, ४ भल्भ इन्जिन रहेको छ ।

उक्त इन्जिनले १६.५ पीएस पावर ८००० आरपीएममा र १४.८ एनएम टर्क ६५०० आरपीएममा उत्पादन गर्छ । यो बाइकमा एलईडी हेडलाइट, एलईडी टेल लाइट र डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टरजस्ता फिचर रहेका छन् ।

पल्सर १५० डबल डिस्क

बजाजले पल्सर १५० को दुई भेरियन्ट विक्री गर्दै आएको छ । यसम पल्सर सिंगल डिस्क र डबल डिस्क रहेको छ । यी दुबै मोटरसाइकलको मूल्य ३ लाखभन्दा कम रहेको छ ।

बजाज पल्सर १५० सिंगल डिस्कको मूल्य २ लाख ८२ हजार ९०० रुपैयाँ र डबल डिस्क भेरियन्टको मूल्य २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको छ ।

पल्सर १५० मा १४९.५ सीसी सिंगल सिलिन्डर ट्वाइन स्पार्क मोटर लगाइएको छ । उक्त इन्जिनले १४ पीएस पावरका साथै १३.४ एनएम टर्क उत्पादन गर्छ । इन्जिनमा ५ स्पीड गियरबक्स लगाइएको छ ।

हिरो एक्सट्रिम २००

नेपाली बजारमा ३ लाखभन्दा कम मूल्यको एक मात्र २०० सीसी क्षमताको मोटरसाइकल हिरो एक्सट्रिम २०० आर रहेको छ । यो मोटरसाइकलको मूल्य २ लाख ९९ हजार ५०० रुपैयाँ रहेको छ ।

यो मोटरसाइकलमा २०० सीसी क्षमताको सिङ्गल सिलिन्डर एयरकुल्ड टु–भल्व इन्जिन लगाइएको छ । इन्जिनले ८००० आरपीएममा १८ बीएच पावरका साथै ६५०० आरपीएममा १७ एनएम टर्क उत्पादन गर्छ । बाइकमा एलईडी हेडल्याम्प, फूल डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, एबीएस, डिजीटल स्पिडोमिटर, टेकोमिटर, ट्रिपमिटर लगायतका विशेषता दिएको छ ।

सुजुकी जिक्सर १५०

सुजुकी जिक्सर १५० को दुई भेरियन्ट विक्री भइरहेको छ । कम्पनीले विक्री गर्ने जिक्सरको वेस भेरियन्टको मूल्य ३ लाखभन्दा कम मूल्यको रहेको छ ।

सुजुकी जिक्सर१५० को वेस भेरियन्टको मूल्य २ लाख ८३ हजार ९ सय रुपैयाँ रहेको छ । यसमा उपलब्ध १५४.९ सीसी इन्जिनले ८ हजार आरपीएममा १४.६ पीएस पावरका साथै ६ हजार आरपीएममा १४ एनएम टर्क उत्पादन गर्छ । यसमा पाँच स्पीड गियरबक्स दिइएको छ । डिस्क र ड्रम भेरियन्टमा उपलब्ध यो बाइकमा एबीएसको विशेषता दिइएको छ ।


Back_to_top