काठमाडौं । नेपालको पहिलो ईभी अटोशोमा आउने सम्भावना भएको महिन्द्राको पहिलो इलेक्ट्रीक एसयूभी एक्सयूभी ४०० को थप टिजरहरू सार्वजनिक भएको छ ।
आगामी बिहीबार ग्लोबल डेब्यू हुन लागेको यो एसयूभी महिन्द्राको सबकम्प्याक एसयूभी एक्सयूभी ३०० बनेकै प्ल्याटफर्म एक्स १०० मा बनेको हो । महिन्द्राले केही साता अघि बर्न ईभी प्ल्याटफर्मको कन्सेप्ट सार्वजनिक गरेता पनि यो मोडल भने पूरानै प्ल्याटफर्ममा बनेको छ ।
महिन्द्राको एक्सयूभी ४०० कोरियन अटोमाबाइल कम्पनी साङयोङको टिभोलीमा आधारित हुनेछ । यसको लम्बाइ ४.३ मिटर हुने सम्भावना रहेको छ । हालै सार्वजनिक भएको टिजर भिडियोमा एक्टेरियरको हाइलाइटहरू प्रस्तुत गरिएको छ ।
भिडियोको सुरूवातमा चार्जिङ सकेट देखाइएको छ, जुन रियर डोरको पछाडि परम्परागत फ्युल हाल्ने ठाँउ रहेको दायाँ साइडमा रहेको छ । फ्रन्ट फेरियामा इन्भर्टेड एल सेपको सार्प एलइडी डेटाइम रनिङ लाइट र हेडलाइट दिएको छ । अगाडि क्लोज ग्रिल र महिन्द्राको ट्वीन पिक लोगो बीचमा रहेको छ ।

एक्सयूभी ४०० मा नयाँ डिजाइनको अलोय ह्वील, लेटेस्ट कनेक्टिभिटी फिचर सहितको ठूलो साइजको इन्फोटेन्मेन्ट सिस्टम, हर्मनको म्यूजिक सिस्टम, एडास सिस्टम, अटोमेटिक ड्युलजोन क्लाइमेट कन्ट्रोल, कु्रजकन्ट्रोल तथा अन्य धेरै फिचरहरू रहेको छ ।
यो एसयूभीमा १५० हर्सपावरको सिंगल मोटर तथा ४०० किलोमिटरभन्दा बढी रेन्ज दिने ब्याट्री प्याक रहनेछ । फास्ट चार्जिङ, रिजेनेरेशन टेक्नलोजीका साथै फरक–फरक ब्याट्री अप्सनमा समेत एक्सयूभी ४०० आउने सम्भावना रहेको छ ।


