काठमाडौं । महिन्द्रा एण्ड महिन्द्राले सन् २०२२ अगस्ट महिनाको विक्री तथ्यांक सार्वजनिक गरेको छ । भारतीय बजारमा भएको एक महिनाको होलसेल विक्री तथ्यांकमा महिन्द्राले एक महिनामा गरेको विक्रीमा अहिलेसम्मकै धेरै यूनिट भेट्टाउन सफल भएको हो ।
कम्पनीले सन् २०२१ को अगस्ट महिनामा १५ हजार ९७३ यूनिट प्यासेन्जर कार विक्री गरेकोमा अहिले ८७ प्रतिशतले विक्रीमा वृद्धिगरी २०२२ अगस्टमा २९ हजार ८५६ यूनिट कार विक्री गर्न सफल भएको हो । एकै महिनामा यति धेरै यूनिट कार विक्री भएको महिन्द्राको इतिहासमै सबैभन्दा धेरै हो ।
गत जुलाई महिनामा पनि कम्पनीले २८ हजार ५३ यूनिट कार डिलरकोमा पठाएको थियो । कम्पनीको विक्री बढ्नुमा विशेषत एसयूभी सेग्मेन्टका एक्सयूभी ७००, थार, बलेरो, स्कर्पियो, एक्सयूभी ३०० लगायतका मोडलको विक्री बढ्दा भएको हो ।
महिन्द्राले केही समयअघि बुकिङ लिएको नयाँ स्कर्पियो एनको अझै डेलिभरी सुरु गरेको छैन । एक लाख यूनिटभन्दा धेरै बुकिङ रहेको स्कर्पियो एनको डेलिभरी सुरु भएसँगै महिन्द्राको विक्रीमा पनि थप उछाल आउने अनुमान गरिएको छ ।
कम्पनीले केही दिन भित्रै एक्सयूभी ४०० इलेक्ट्रीक बजारमा ल्याउने तयारी गरिरहेको छ । कम्पनीले यो इलेक्ट्रीक कारको विक्री सुरु गरेसँगै बजार हिस्सा थप बढ्दै जाने र विक्री रफ्तार तिब्र हुने निश्चित जस्तै देखिन्छ ।


