काठमाडौं । बजाज मोटरसाइकलको नेपालको लागि आधिकारीक विक्रेता हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले बजाजको नयाँ जेनेरेशन मोडल एन १६० नेपाल ल्याउने भएको छ । कम्पनीले आगामी हप्ता नै एन १६० नेपालमा विक्री सुरु गर्न लागेको हो ।
केही दिनअघि मात्र्र पल्सर एनएस सिरिजको सबैभन्दा सानो मोटरसाइकल एनएस १२५ नेपालमा बुकिङ सुरु गरेको कम्पनीले पल्सर एन सिरिजको नयाँ मोटरसाइकल नेपाल ल्याउने भएको हो ।
केही समय अगाडि मात्र भारतमा सार्वजनिक भएको पल्सर १६० एन नेपाल आउन लागेको हो । कम्पनी स्रोतका अनुसार पल्सर १६० एन अर्को हप्ताको अन्तिममा नेपालमा विक्री सुरु हुने छ ।
यसअघि नै पल्सर एन २५० ट्वीन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको कम्पनीले विभिन्न कारणले सार्वजनिक गर्न सकेको छैन् । कम्पनीले त्यसभन्दा पहिला नै पल्सर १६० एन सार्वजनिक गर्ने भएको हो ।
पल्सर २५० ट्वीन र १६० एनले भारतीय बजारमा राम्रो व्यापार गरिरहेको छ भने नेपाली बजारमा पनि यी दुई मोडल सफल हुने अनुमान गर्न सकिन्छ ।
बजाजले पल्सर १६० एनमा ट्वीन भर्टिकल एलइडी टेलल्याम्प, वाई सेपको अलोय ह्वील, स्प्लीट ग्रावरेल, अन्डरवेली एग्जस्ट दिएको छ । साथै, आइब्रो डिजाइनमा एलइडी डेटाइम रनिङ लाइट, अगाडि सानो विन्ड स्कृन, सार्प र मस्कुलर डिजाइनको इन्धन ट्याङ्की पल्सर १६० एनमा दिइएको छ ।
यसमा कम्पनीले १६४.८ सीसी क्षमताको आयल कुल्ड, सिंगल सिलिण्डर इन्जिन दिएको छ । यो इन्जिनले अधिकतम १६ पीएस पावर र १४।६ एनएम टर्क प्रदान गर्छ । यसमा ५ स्पीड गियरबक्स रहेको छ ।
बजाजले १६० एनमा सिंगल च्यानल र डबल च्यानल एबीएसको अप्सन दिएको छ । मोटरसाइकलको दुबै चक्कामा डिस्क ब्रेक, १७ इन्चको ह्वील, दिइएको छ ।
भारतीय बजारमा सिंगल च्यानल भेरियन्टको मूल्य १ लाख २३ हजार भारु रहेको छ भने डबल च्यानल भेरियन्टको १ लाख २८ हजार भारतीय रुपैयाँ रहेको छ ।
यसको मूल्यको बारेमा कम्पनीले आधिकारिक जानकारी बाहिर ल्याएको छैन भने नेपालमा सार्वजनिक हुँदा सिंगल च्यानल एबीएसको मूल्य ३ लाख ५० हजार हाराहारी हुने अनुमान गर्न सकिन्छ ।

