काठमाडौं । विद्युतीय सवारीसाधन (ईभी) किन्दा ग्राहकले अब मोटरको क्षमता, रेन्ज र चार्जिङ स्पिडसँगै ब्याट्री कति टिकाउ भन्ने विषय पनि जान्नु पर्ने देखिएको छ ।
स्विडेनको कम्पनी कार्लाले सन् २०२२ देखि २०२६ सम्म ९ हजार ९५४ युनिट विद्युतीय गाडीको ब्याट्री विश्लेषण गरेर रिपोर्ट बाहिर ल्याएको हो । कार्ला विद्युतीय गाडीको प्लेटफर्म बिक्री गर्ने कम्पनी हो ।
कम्पनीले गरेको करिब १० हजार युनिट विद्युतीय सवारीसाधनको ब्याट्री परीक्षणमा एउटै मोडलका गाडीमा समेत ब्याट्रीको क्षमतामा ठूलो अन्तर देखिएको छ ।
‘एभिलो ब्याट्री डायग्नोस्टिक’ प्रविधिबाट गरिएको परीक्षणमा टेस्ला, अउडी, बीएमडब्लू, किया, हुन्डाईलगायतका ईभी ब्राण्ड समेटिएका थिए । उक्त परीक्षणमा चिनियाँ उत्पादनहरू भने समाबेस छैन ।
अध्ययन रिपोर्ट अनुसार किया ई-निरो ६४ किलोवाट आवर ब्याट्रीले १ लाख किलोमिटर गुड्दा ब्याट्री क्षमता औसत ९७.२५ प्रतिशत बाँकी देखाएको रिपोर्टको दाबी छ ।
त्यस्तै, हुन्डाई कोना इलेक्ट्रीक १ लाख किलोमिटर गुड्दा ब्याट्री हेल्थ ९७.१८ प्रतिशत बाँकी देखियो । किया ईभी सिक्सको ७७.४ किलोवाट आवरको ब्याट्री संस्करणले १ लाख किलोमिटर पार गर्दा ९५.९५ प्रतिशत क्षमता कायम राखेको थियो ।
यसको अर्थ १ लाख किलोमिटर चल्दा पनि ९७ प्रतिशत ब्याट्री हेल्थ भएको कारको रेन्ज केबल ३ प्रतिशतले मात्रै घट्ने देखिएको हो । यद्यपि वास्तविक रेन्जमा मौसम, तापक्रम, ड्राइभिङ शैली र सडक अवस्थाजस्ता विषयले प्रभाव पार्छन् ।
अध्ययनमा सबैभन्दा कम ब्याट्री क्षमता कायम राख्ने टेस्ला मोडल थ्रीको ५२.४ किलोवाट आवर प्यानासोनिक ब्याट्री भएको संस्करण देखिएको छ । यसले १ लाख किलोमिटर चलेपछि ब्याट्री हेल्थ ८८.२ प्रतिशत मात्रै कायम राखेको थियो ।
त्यस्तै, ७७.८ किलोवाट आवर प्यानासोनिक ब्याट्री भएको मोडल थ्रीले ८९.८ प्रतिशत र एलजी केम ब्याट्री प्रयोग भएको मोडल थ्रीले ९१.५ प्रतिशत र सीएटीएलको एलएफपी ब्याट्री भएको मोडल ३ को औसत ९३.३ प्रतिशत क्षमता कायम रहेको अध्ययन रिपोर्टमा उल्लेख छ ।
यसरी हेर्दा एउटै टेस्ला मोडल थ्री भए पनि ब्याट्री निर्माता र प्रविधिका आधारमा सबैभन्दा राम्रो र कमजोर संस्करण बीच ५.१ प्रतिशत अंकको अन्तर देखिएको छ ।
यसले प्रयोग गरिएको ईभी खरिद गर्ने ग्राहकले केवल गाडीको मोडल, उत्पादन वर्ष वा किलोमिटर मात्र हेरेर निर्णय गर्न नहुने देखाएको छ । एउटै मोडलका गाडीमा प्रयोग भएको ब्याट्रीको रसायन, सेल निर्माता र ब्याट्री प्याकको प्रकारले समेत दीर्घकालीन प्रदर्शनमा फरक पार्न सक्छ ।
पुरानो ईभी किन्दा ब्याट्री स्वास्थ्य परीक्षण महत्वपूर्ण
अध्ययनले कुनै निश्चित मोडलको सबै गाडीमा उस्तै ब्याट्री डिग्रेडेसन हुन्छ भन्ने निष्कर्ष दिएको छैन । ब्याट्रीको आयुमा उमेर, मौसम, तापक्रम, चार्जिङ बानी, फास्ट चार्जिङको प्रयोग, ड्राइभिङ शैली र सफ्टवेयर व्यवस्थापनले पनि प्रभाव पार्न सक्छ ।

रिकण्डिसन ईभी बजारमा ब्याट्रीको स्वास्थ्य अवस्था अर्थात् स्टेट अफ हेल्थलाई महत्वपूर्ण सूचकका रूपमा लिनुपर्ने देखिएको छ । विशेषगरी पुरानो ईभी किन्दा ग्राहकले सम्भव भएसम्म ब्याट्री परीक्षण रिपोर्ट माग्नुपर्ने र गाडीमा कुन कम्पनीको ब्याट्री प्रयोग भएको छ भन्ने एकिन जानकारी लिनुपर्ने अध्ययनले संकेत गरेको छ ।
ब्याट्री स्वास्थ्यले पुनःबिक्री मूल्यमा पनि असर पार्ने
ईभीको ब्याट्री स्वास्थ्यले भविष्यमा यसको पुनःबिक्री मूल्यमा समेत प्रभाव पार्न सक्ने देखिन्छ । समान मोडल, समान माइलेज र समान अवस्थाका दुई गाडीमध्ये एउटा गाडीको ब्याट्री स्वास्थ्य ९३.३ प्रतिशत र अर्कोको ८८.२ प्रतिशत छ भने राम्रो ब्याट्री स्वास्थ्य भएको गाडीले तुलनात्मक रूपमा बढी मूल्य पाउन सक्ने सम्भावना हुन्छ ।
हाल अधिकांश प्रयोग गरिएको गाडीको बिक्री विज्ञापनमा मोडल, भेरियन्ट, माइलेज र उत्पादन वर्ष उल्लेख गरिए पनि ब्याट्री स्वास्थ्य र ब्याट्री आपूर्तिकर्ताको जानकारी स्पष्ट रूपमा दिइँदैन । तर, ईभीको बजार विस्तार हुँदै जाँदा यस्ता विवरण भविष्यमा प्रयोग गरिएको ईभीको मूल्य निर्धारणका लागि महत्वपूर्ण बन्न सक्ने देखिन्छ ।
कार्लाको अध्ययनमा समेटिएका शीर्ष २० मोडलमध्ये सबैले ९१ प्रतिशतभन्दा बढी ब्याट्री क्षमता कायम राखेको जनाइएको छ । यसले समग्रमा आधुनिक ईभीको ब्याट्री टिकाउपन सकारात्मक रहेको देखाए पनि प्रयोग गरिएको ईभी खरिद गर्दा ‘मोडल’सँगै ‘कुन ब्याट्री’ भन्ने प्रश्न पनि उत्तिकै महत्वपूर्ण हुँदै गएको देखाउँछ । (टपस्पीड डटकमको सहयोगमा)


