कम मूल्यमा बेच्ने गरी ल्यायो कियाले नयाँ ‘सोल ईभी’

काठमाडौं । कियाले यूरोपियन बजारलाई ध्यानमा राखेर कम मूल्यमा विक्री गर्ने तयारी सहित सोल ईभी वेलायतमा सार्वजनिक गर्ने तयारी गरेको छ । कोरियन कार निर्माता कियाले सोल ईभीको ब्याट्री साइज र मोटर साइज कम गरेर नयाँ सोल सार्वजनिक गर्न लागेको हो ।

वेलायतमा बढ्दो विद्युतीय कारको मागलाई सम्बोधन गर्न कियाले २०२३ सोल ईभीमा थुप्रै परिमार्जन गरेको छ । परिमार्जित सोल ईभीमा हुन्डाई कोनामा रहेको ३९.२ किलोवाट आवरको ब्याट्री दिइएको छ । वेलायती सडकमा यसमा रहेको ब्याट्रीले फुल चार्जमा २७५ किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ ।

कम्पनीले अहिले विक्री गर्दै आएको सोल ईभीमा ६४ किलोवाटको ब्याट्री र १५० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । ठूलो मोटर भएकै कारण नेपालमा यसको मूल्य महंगो पर्ने भएको कारण कम्पनीले आयात गरेको छैन ।

तर, अहिले वेलायतमा विक्री सुरु हुन लागेको सोल ईभीमा १०० किलोवाट पीक पावरको मोटर दिएको छ । यसको मतलव नयाँ सोल ईभीको अधिकतम पावर १३४ हर्स पवार र ३९५ एनएम टर्क रहेको छ । नयाँ सोल ईभीलाई सून्यदेखि १०० किलोमिटर प्रतिघन्टाको स्पीड भेट्टाउन केवल ९.९ सेकेन्ड मात्रै लाग्छ । यसको टप स्पीड क्षमता १५६ किलोमिटर प्रतिघन्टा रहेको छ । नेपालमा यसमा लाग्ने कर पनि कम रहेको छ ।

नयाँ सोल ईभीमा ३.३ किलोवाटको चार्जरले चार्ज गर्दा फुल चार्ज हुन १८ घन्टा लाग्छ । त्यस्तै ७.२ किलोवाटको चार्जरले ६ घन्टामा फुल चार्ज गर्छ भने ८० किलोवाट क्षमताको फास्ट चार्जरले सून्यदेखि ८० प्रतिशत चार्ज गर्न ५४ मिनेट लगाउने छ ।

किया सोल ईभीमा फुल एलइडी हेडल्याम्प, १७ इन्चको अलोय ह्वील, ८ इन्चको टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, ७ इन्चको ओलेड कलर ड्राइभर इन्ट्रुमेन्ट क्लष्टर, रिभर्स पार्किङ क्यामेरा, अटोमेटीक एयर एसी, एडप्टीभ स्मार्ट क्रुज कन्ट्रोल लगायतका फिचर उपलब्ध रहेको छ ।


Back_to_top