काठमाडौं । विश्वकै ठूलो मोटरसाइकल उत्पादक कम्पनी हिरो मोटोकर्पले आफ्नो पहिलो इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले इलेक्ट्रीक सवारीसाधन उत्पादनको लागि यसअघि नै भिडा ब्राण्ड नेम राखेको थियो ।
कम्पनीले भिडा-भी १ नामबाट पहिलो स्कुटर आज शुक्रबार सार्वजनिक गरेको हो । यो स्कुटर दुई भेरियन्टमा बजारमा आउने छ । भी १ प्लस र भी १ प्रो भेरियन्टमा आएको स्कुटरको टप स्पीड क्षमता प्रतिघन्टा ८० किलोमिटर रहेको छ ।
एक पटकको फुल चार्जमा १६५ किलोमिटरसम्म चल्न सकिने यी स्कुटरको सुरुवाती मूल्य १ लाख ४५ लाख भारतीय रुपैयाँ कायम गरिएको छ । आज सार्वजनिक भएपनि अक्टोबर १० तारिखबाट यसको बुकिङ सुरु हुने कम्पनीले जनाएको छ ।
भिडा ब्राण्ड नेममा आएका दुबै भेरियन्टका स्कुटर फिचर लोडेड रहेका छन् । यसमा ७ इन्चको टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टम दिइएको छ । साथै, क्रुज कन्ट्रोल, एसओएस अलर्ट, टु-वे थ्रोटल र किलेस कन्ट्रोललगायत अन्य धेरै सुविधाहरू पनि छन् ।
हिरोले ल्याएको यी दुबै भेरियन्टका स्कुटरले फास्ट चार्जिङ प्रविधि सपोर्ट गर्ने किसिमको छ । कम्पनीले भि १ मोडलमा ३.९४ किलोवाट आवरको लिथियम आयोन ब्याट्री दिइएको छ भने भि १ प्लसमा ३.४४ किलोवाट आवरको ब्याट्री पाउन सकिन्छ ।

