काठमाडौं । दशैंको टिका लगत्तै निरन्तर दुई दिन परेको वर्षाको कारण धेरै मानिस टिका थाप्नदेखि घुम्न समेत निस्कन पाएनन् । मौसममा आएको खरावीले धेरैलाई समस्यामा पारेको थियो । आज शुक्रबार विहानबाट मौसममा केही सुधार देखिएको छ ।
काठमाडौं बाहिर धेरै मानिस घुम्न जान नसकेपनि उपत्यका वरपर भने अब घुम्न सकिने अवस्था बनेको छ । यहाँ घुम्नको लागि आफ्नै साधन नहुनेले पनि भाडामा मोटरसाइकल वा स्कुटर लिन सक्ने छन् ।
काठमाडौं बाहिर जानेहरुले ८/१० दिनको प्याकेजमा धेरै मोटरसाइकल लाने गरेको र बाहिरबाट काठमाडौं आउनेहरुले पनि मोटरसाइकलमा नै घुम्न रुचाउने भएका कारण भाडाको मोटरसाइकल पाउनै मुस्कील हुने व्यवसायीको भनाई छ ।
‘दशैंदेखि तिहारसम्मका लागि नै मोटरसाइकल पाउन मुस्कील छ, सबै मोटरसाइकल बुक भइसकेका कारण भाडामा बाइक खोज्नेलाई दिनै सकिदैन, केही बुकिङ फिर्ता भयो भने मात्र एकाधले पाउने सम्भावना हुन्छ’ काठमाडौंको ठमलेमा मोटरसाइकल भाडामा लगाउने सिटी मोटरवाइकका संचालक सुजन मर्हजनले भने ।
सामान्य समयमा भने एक हजार ५०० रुपैयाँदेखि ३ हजार रुपैयाँसम्म दैनिक भाडामा मोटरसाइकल उपलब्ध गराउँदै आएको महर्जन बताउँछन् ।
त्यस्तै अवस्था काठमाडौं स्वयम्भुमा मोटरसाइकल भाडामा दिने बुद्धरत्न मर्हजनको छ । उनि भन्छन्, ‘अहिले सबै मोटरसाइकल बुकिङ छ । मोटरसाइकल भाडामा खोज्नेको दैनिक २०० सम्म फोनकल आउँछ, मोटरसाइकल दिन सक्ने अवस्था छैन ।’
महर्जनका अनुसार दैनिक ७ हजार रुपैयाँ भाडा पर्ने होन्डा सिआरएफसमेत बुकिङ भइसकेको छ । अन्य समयमा भने १ हजार ५०० रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मका मोटरसाइकल भाडामा दिँदै आएको महर्जनले सुनाए ।
त्यसैगरी, ठमेलमा स्कुटर तथा मोटरसाइकल भाडामा दिने कम्पनी नमस्ते मोटरबाइकले भने केही स्कुटहरु भाडामा उपलब्ध गराउन सकिने जनाएको छ । ‘मोटरसाइकहरु सबै प्याक छ, काठमाडौं वरपर घुम्न चाहनेका लागि केही यूनिट स्कुटर उपलब्ध गराउन सकिन्छ’ कम्पनीका संचालक सुरेन्द्रले भने ।
सामान्य समयमा १ हजार रुपैयाँका स्कुटरदेखि ८ हजार रुपैयाँ पर्ने होन्डा सिआरएफ उपलब्ध हुने उनको भनाई छ ।

