काठमाडौं । बजाजको सबैभन्दा पावरफुल मोटरसाइकल डोमिनार ४०० नयाँ बीएस ६ मापदण्डको इन्जिनमा सार्वजनिक भएको छ । बजाजको आधिकारीक वितरक हंशराज हुलास चन्द एण्ड कम्पनी प्रालिले अपग्रेडसहितको डोमिनार ४०० सार्वजनिक गरेको हो ।
बीएस ६ भर्सनमा आएसँगै यसको मूल्यसमेत वृद्धि भएको छ । कम्पनीले बजाज डोमिनार ४०० को बीएस ६ भर्सनको मूल्य ६ लाख ३४ हजार ९०० रुपैयाँ तोकेको छ ।
१५० सीसी क्षमताभन्दा माथिका मोटरसाइकल आयातमा प्रतिबन्ध रहेको अवस्थामा डोमिनारको बीएस ६ भर्सन नेपालमा सार्वजनिक भएको हो । कम्पनीले नेपालमा नै एसेम्वल गर्दै आएका कारण यो मोटरसाइकल सार्वजनिक भएको हो । अनएसेम्बल अवस्थामा मोटरसाइकल आयात भने रोकिएको छैन ।
कम्पनीले टुरिङ सेटअपमा डोमिनार ४०० ल्याएको हो । नयाँ मोटरसाइकलमा टप बक्स र्याक, स्याडल स्टे, ठूलो विन्डसिल्ड, डबल च्यानल एबीएस जस्ता फिचर पाउन सकिन्छ ।
त्यस्तै बीएस ६ डोमिनार ४०० मा कम्पनीले मेकानिकल परिवर्तन पनि गरेको छ । पुरानै इन्जिन भए पनि थप ट्यूनिङ गरेर पावरमा वृद्धि गरिएको छ । पहिलेको तुलनामा नयाँ इन्जिनले ४ पीएस ज्यादा दावर प्रदान गर्छ ।
परिमाजर्न भएर आएको बजाज डोमिनार ४०० मा ३७३.३ सीसी ट्रिपल स्पार्क, ४ भल्भ, डीटीएस–आई, लिक्वीड कूल्ड, एफआई इन्जिन रहेको छ । यो इन्जिनले ८००० आरपीएममा ४० पीएस पावर र ६५०० आरपीएममा ३५ एनएम टर्क जेनेरेट गर्छ ।
डोमिनारको टप स्पीड क्षमता १४८ किलोमिटर प्रतिघन्टा रहेको छ । यसको फ्रन्टमा ४३ यूएसडी फर्क र रियरमा मोनोशक रहेको छ । ६ स्पीडको गियरबक्स रहेको यो मोटरसाइकलमा १५७ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ ।


