काठमाडौं । भारतीय अटोमोबाइल उत्पादक टाटाले एकपछि अर्को मोडलको फेसलिफ्ट मोडल ल्याउने भएको छ । केही समय अघि पन्च र टियागोको फेसलिफ्ट मोडल बजारमा ल्याएको कम्पनीले चाँडै टिगोरको फेसलिफ् ल्याउने भएको हो ।
कम्पनीले भारतमा २०२६ टिगोरको डिजाइन पेटेन्ट गराएको छ । जसले यो कम्प्याक्ट सेडानले चाँडै अपडेट पाउन सक्ने संकेत गर्दछ ।
२०२६ टाटा टिगोर फेसलिफ्टले उल्लेखनीय कस्मेटिक परिवर्तनहरू पाउने अपेक्षा गरिएको छ । यसमा भित्री सुधारहरू यसको सहोदर टियागोसँग मिल्दोजुल्दो हुन सक्छ ।
पेटेन्ट तस्बिरहरूले सेडानलाई विभिन्न कोणबाट देखाउँछन् । हालै अपडेट गरिएको टियागोसँग नजिकबाट जोडिएका स्टाइलिङ परिमार्जनहरू देखिन्छ । फ्रन्ट फेसिया रिडिजाइन गरिएको बम्पर देखिन्छ । जसमा फराकिलो तल्लो इन्टेक र तेर्सो स्ल्याटहरू छन् । हेडल्याम्प क्षेत्र पनि नयाँ आकारको जस्तो देखिन्छ । बोनेटको रेखा एकदम सफा रहने छ । तर फ्ल्याटर फ्रन्ट प्यानल र परिमार्जित बम्पर सर्फेसिङका कारण अगाडिको चुच्चो अझ तिखो देखिन्छ।
साइड प्रोफाइलले टिगोरको परिचित नचब्याक बडी स्टाइललाई कायम राख्ने देखिन्छ । पेटेन्ट तस्बिरहरूले टिगोरमा नयाँ एलोय ह्वील डिजाइन, हल्का परिमार्जित साइड सर्फेसिङ, परिचित डोर ह्याण्डल र चार ढोकाको लेआउट पनि देखाउँछन्।
पछाडिमा भागमा धेरै परिवर्तन देख्न सकिन्छ । टेल ल्याम्प रिडिजाइन गरिएको छ । बुट लिड पहिलेभन्दा फ्ल्याट र सफा देखिन्छ ।
टाटाले हालै सार्वजनिक गरेको टियागो फेसलिफ्टमा रिडिजाइन गरिएको एक्सटेरियर, अपडेटेड क्याबिन र थप फिचरसहित आएको थियो । टियागोमा एलईडी हेडल्याम्प, एलईडी टेल ल्याम्प, १५ इन्च डुअल टोन एलोय ह्वील, १०.२५ इन्च टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम, वायरलेस एन्ड्रोइड अटो र एप्पल कारप्ले, फुल्ली डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, रियर भेन्टसहितको अटोमेटिक क्लाइमेट कन्ट्रोल, क्रुज कन्ट्रोल लगायत फिचर छन् । टिगोर फेसलिफ्टमा पनि यी मध्ये धेरै फिचर रा्खन सक्ने अनुमान छ ।
टिगोरमा मेकानिकल परिवर्तनहरूको भने अपेक्षा गरिएको छैन, हालको टिगोरको १.२ लिटर थ्री सिलिण्डर पेट्रोल इन्जिन छ । जसले लगभग ८६ हर्षपावर र ११३ न्युटन मिटर टर्क दिन्छ । ईभीको हकमा पनि हालकै ब्याट्री र मोटरले निरन्तरता पाउने सम्भावना छ । रेन्जमा भने सुधार आउन सक्छ ।
नेपालमा पनि टिगोर ईभी बिक्री हुँदै आएको छ । यद्यपि, प्यासेन्जर कार सेग्मेन्टमा नभई ट्याक्सीको रूपमा बिक्री भइरहेको छ ।


