काठमाडौं । हिरो मोटोकर्पले भारतमा रेट्रो स्टाइल कम्युटर सेग्मेन्टमा नयाँ मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले १२५ सीसी इन्जिन क्षमतामा स्प्लेण्डर प्रो क्लासिकमा आधारित नयाँ मोटरसाइकल ल्याउने भएको हो ।
हिरोले नयाँ मोटरसाइकल निर्माणका लागि पेटेन्ट फाइल दर्ता गराएर काम गरिरहेको छ । हिरोको नयाँ मोडलको पेटेन्ट डिजाइन सार्वजनिक भएसँगै यो खबर भारतीय मिडियामा आएको हो ।
पेटेन्ट तस्बिर अनुसार नयाँ मोडलको डिजाइन विगतमा निकै चर्चित रहेको स्प्लेण्डर प्रो क्लासिक सँग मिल्दोजुल्दो देखिएकाले सोहि मोडलमा आधारित नयाँ मोटरसाइकल बजारमा आउने बताइएको छ ।
मोटरसाइकलको समग्र स्वरूप क्लासिक कम्युटर शैलीमा आधारित भए पनि यसको लो-स्लङ स्टान्स, लामो एग्जस्ट र क्लियर टेल डिजाइनले क्याफे–रेसरको झल्को दिन्छ ।
मोटरसाइकलमा गोलाकार हेडल्याम्प, स्लिम फ्युल ट्याङ्क, लामो सिंगल-पिस सिट, खुला साइड प्यानल, ट्युबुलर ग्राब रेल, फाइभ–स्पोक अलोय ह्वील, टेलिस्कोपिक फ्रन्ट फोर्क, ट्विन रियर सस्पेन्सन सेटअप तथा साधारण रियर सेक्सन छ ।
यो नयाँ मोडलको ओभरअल डिजाइन हेर्दा पुरानो स्प्लेण्डर प्रो क्लासिकको आधुनिक संस्करण ल्याउने सम्भावना रहेको अनुमान गरिएको रिपोर्टमा उल्लेख छ । कम्पनीले भने यसबारे कुनै पनि जानकारी अहिलेसम्म सार्वजनिक गरेको छैन ।
हिरोले पहिलो पटक सन् २०१५ तिर भारतीय बजारमा ल्याएको स्प्लेण्डर प्रो क्लासिक ९७.२ सीसी इन्जिन क्षमतामा थियो । त्यो समय यो मोटरसाइकल नेपाली बजारमा पनि उपलब्ध भएको थियो । त्यतिबेला क्याफे रेसर डिजाइन धेरै चर्चित नभएका कारण बजारमा धेरै टिक्न सकेन । अर्थात अपेक्षित व्यावसायिक सफलता हासिल गर्न नसकेपछि बजारबाट हटाइएको थियो । तर हाल रेट्रो मोटरसाइकलप्रति बढ्दो आकर्षणका कारण हिरोले सो अवधारणालाई पुनर्र्जीवित गर्ने तयारी गरिरहेको अनुमान गरिएको छ ।
कम्पनीले नयाँ मोडलमा पुरानो इन्जिनको सट्टा १२५ सीसी क्षमताको इन्जिन प्रयोग गर्ने छ । हिरोको सुपर स्प्लेण्डर र ग्ल्यामर सिरिजमा प्रयोग भइरहेको १२५ सीसी इन्जिनले राम्रो प्रदर्शन र इन्धन दक्षता दिने भएकाले यही प्लेटफर्म प्रयोग हुन सक्ने अनुमान गरिएको छ ।


