जुलाइमा आउँदै एक्सपेङको सानो एसयूभी ‘एल-०३’

काठमाडौं । एक्सपेङले मोना सिरिज अन्तर्गत ‘एल-०३’ एसयूभी जुलाई महिनामा सार्वजनिक गर्ने भएको छ । कम्पनीले कम मूल्यको एसयूभी खोज्ने उपभोक्तालाई ध्यानमा राखेर ‘एल-०३’ ल्याउन लागेको हो ।

मोना सिरिजमा पहिलो मोडल ‘एम-०३’ सार्वजनिकपछि हौसिएको एक्सपेङले अब एसयूभी ल्याउने भएको हो । एम-०३ को बिक्री सुरू भएको ५२ मिनेटमै १० हजार बढी उपभोक्ताले अर्डर गरेका थिए । सन् २०२४ अगस्टमा पहिलो पटक सार्वजनिक भएको एम-०३ अहिलेसम्म २ लाख ७२ हजार ७७ युनिट उपभोक्ताले प्रयोग गरिरहेको तथ्यांक ‘ईभी डाटा ट्रयाकर’ले सार्वजनिक गरेको छ ।

अब यही सिरिजमा आएको मोना एल-०३ ले पनि धेरैको मनमा कौतुहलता पैदा गराएको छ । चिनियाँ सूचना प्रविधि तथा उद्योग मन्त्रालयमा बुझाइएको रिपोर्टले पनि एल-०३ आकर्षक हुने अनुमान लगाउन सकिन्छ ।

यसमा टी आकारको हेडलाइट, माथिबाट तलतिर झरेको बोनेट, फास्टब्याक प्रोफाइल देख्न सकिन्छ । साथै, सेमी हिडेन डोर ह्याण्डल, सिंगल टेललाइट स्ट्रीप, एक्टिभ एयर इन्टेक र ह्वीलमा प्रस्ट देखिने ब्रेक क्यालिपरले एसयूभी लुक प्रदान गर्छ । यसमा ह्वील साइज भने भेरियन्ट अनुसार १८ देखि २० इन्चसम्मको हुनेछ ।

साइजको हिसाबले पनि एल-०३ चल्तीका मोडल सरहनै हुनेछ । यसको लम्बाइ ४६५० एमएम, चौडाइ १९२० एमएम र उचाइ १६०० एमएम रहनेछ । यसमा २८५० एमएम लामो ह्वीलबेस रहने छ । लामो ह्वीलबेसको कारण क्याविनमा प्रशस्त स्थान पाउन सकिन्छ ।

एक्सपेङले एल-०३ एसयूभीलाई १८३ किलोवाट क्षमताको रियर ह्वील मोटरमा ल्याउने छ । ब्याट्री साइज भने ५६ र ६९ किलोवाट आवरको रहने छ ।

एक्सपेङका विद्युतीय कार नेपाली बजारमा सीजी मोटर्सले बिक्री गर्दै आएको छ । सम्भवतः मोना एल-०३ छिट्टै नेपाल आउने मोडलमा पर्छ । सीजी मोटर्सका प्रबन्ध निर्देशक निर्वाण चौधरीले छिट्टै एक्सपेङको सानो एसयूभी नेपाल आउने यसअघि नै मेरोअटोसँगको कुराकानीमा बताएका थिए ।


Back_to_top