काठमाडौं । चिनियाँ मोटर कम्पनी ‘डोङफेङ मोटर ग्रुप’ अन्तर्गतको कार म्यानुफ्याक्चरिङ कम्पनी डोङफेङ फोर्थीङले अबको ५ वर्षपछि पेट्रोलियम पदार्थबाट चल्ने कार नबनाउने भएको छ । कम्पनीले गत बिहिबार न्यू इनर्जी भेहिकल ब्राण्ड स्ट्राटिजी जारी गर्दै यस्तो घोषणा गरेको हो ।
कम्पनीले न्यू इनर्जी भेहिकल व्यवसायमा सन् २०३० सम्ममा २० बिलियन युआन लगानी गर्ने जनाएको छ । उक्त अवसरमा कम्पनीले दुईवटा डेडिकेटेड ईभी आर्किटेक्ट इएमएइ तथा ब्याट्रीको लागि काइजाय टेक्नोलोजी सार्वजनिक गरेको थियो ।
कम्पनीका अनुसार एइमएइ आर्किटेक्चरमा सेडान, एसयूभी तथा एमपीभी जस्ता सबै मोडलका गाडिहरु उत्पादन गर्न सकिन्छ । त्यस्तै नयाँ ब्याट्री टेक्नलोजी काइजायमा चार लेवलको सेल, ब्याट्री मोडुल, ब्याट्री प्याकका साथै ब्याट्रीको पूर्ण सुरक्षाहरु पर्छ ।
कम्पनीले उक्त अवसरमा दुई वटा नयाँ अल इलेक्ट्रीक मोडल एसयूभी लाइटिङ र एमपीभीको कन्सेप्ट समेत सार्वजनिक गरेको थियो । डोङफेङको यो कन्सेप्ट एसयूभीमा ६३० किलोमिटर रेन्ज दिने आइपी ६८ वाटरप्रुफ रेटिङ ब्याट्री रहनेछ । यो मोडलमा १२ प्र्रकारका ड्राइभर असिस्ट सिस्टम रहने कम्पनीले जनाएको छ ।

