काठमाडौं । काठमाडौं महानगरपालिकाले निजी सवारीसाधन चढ्नेलाई पार्किङको व्यवस्था गर्न नसक्ने बताएका छन् । मेरोअटोकाे उपत्यकाको पार्किङ व्यवस्थापन कसरी गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा प्रवक्ता नवीन मानन्धरले सवारीधनीले नै पार्किङको व्यवस्था गर्नु पर्ने बताएका हुन् ।
‘निजी सवारीसाधनलाई पार्किङ व्यवस्था गर्ने महानगरको काम होइन । अहिले सडकमा गरिएको पार्किङ हामी केही समय भित्रै हटाउँछौं । हाम्रा कर्मचारी अन्य काममा व्यस्त भएको कारण पार्किङ हटाउने काम पूरा भएको छैन । केही दिनमै त्यो काम सुरू हुन्छ’, प्रवक्ता मानन्धरले भने ।
केही दिनअघि बागबजारमा व्यवसायीले आन्दोलन गरेसँगै आमनागरिकको घर भत्काएर विस्तार गरिएको सडकमा पार्किङ बनाइएको भन्दै जनस्तरमा पनि आवाज उठेको थियो । त्यसलाई हटाउनु पर्ने धेरैले मत राख्दै आएका छन् ।
विशेषगरी काठमाडौंको बागबजार, मैतीदेवी, डिल्लीबजार, बत्तीसपुतली, रातोपुल, सोह्रखुट्टे जस्ता क्षेत्रमा मानिसले बसोबास गरेको घर भत्काएर सडक विस्तार गरिएको थियो । तर, अहिले त्यस क्षेत्रमा सडक फराकिलो भएपनि जथाभाबी पार्किङको कारण लामो जाममा बस्नु पर्ने अवस्था छ ।
महानगरपालीकाले खास स्थानमा ठूला पार्किङ बनाउने योजना बनाएको बताउँदै प्रवक्ता मानन्धर भन्छन्, ‘हामीले खुल्ला मञ्चमा तीनतले अन्डरग्राउन्ड पार्किङ निर्माण गर्न डीपीआर नै तयार गरेका छौं । काठमाडौं महानगर भित्र रहेका सार्वजनिक स्थलमा बहुतले पार्किङ बनाउँछौं । तर, कसैको व्यापार बन्द हुन्छ भनेर सडकमा पार्किङ गर्न दिन सकिँदैन । यसलाई हटाएरै छाड्छौं ।’
काठमाडौं महानगर भित्र रहेका अति व्यस्त स्थानहरू बागबजार, मैतीदेवी, बत्तीसपुतली, चावहिल गणेशथान, सोह्रखुट्टे जस्ता स्थानमा जाम लाग्ने हुँदा त्यसको असर अन्य सहायक सडकहरूमा पनि पर्दै आएको छ ।
यी स्थानमा व्यवसाय गर्दै आएका व्यवसायीहरू भने एक लाइन पार्किङ दिनु पर्ने मत राख्छन् । उनीहरू एक्कासी पार्किङ गर्न नदिने निर्णय लिँदा पूरै व्यवसाय बन्द गर्नुपर्ने अवस्था आउने बताउँछन् ।
बागबजारमा बुटिक चलाउँदै आएका सरोजा मानन्धर भन्छिन्, ‘अहिले यहाँ पार्किङ छ, भनेर ग्राहक आउने गरेका छन् । यहाँ साधन रोकेर सामान किन्न पाइदैन भने कोही आउँदैन । हाम्रो व्यवसाय डुब्छ ।’
नयाँ व्यवसाय खोल्नेले पार्किङको उचित व्यवस्था नभएको ठाँउमा खोल्नु नहुने भन्ने देखिन्छ । साथै, नयाँ व्यवसाय गर्दा व्यवसायको प्रकृति अनुसार स्थान छनोट गर्नु पर्ने र ग्राहकको फ्लो अनुसार पार्किङ छ वा छैन हेर्नुपर्ने महानगरको बुझाइ छ ।
‘अहिले नयाँ बनेका होटल, कम्प्लेक्सदेखि पार्टी प्यालेससम्म पार्किङको व्यवस्था गरेर खुलेका छन् । संसारका धेरै देशमा पार्किङ शुल्क निकै चर्को तिर्नु पर्छ । आफू निजी साधन राख्ने अनि महानगरलाई पार्किङ देऊ भन्न मिल्छ ?’, प्रवक्ता मानन्धरले भने ।


