काठमाडौं । यामाहाको आइकनिक मोटरसाइकल आरएक्स १०० को नयाँ जेनेरेशन मोडल आउने भएको छ । सन् १९८५ देखि १९९६ सम्म लगातार उत्पादन र सफलता हासिल गरेको आरएक्स नयाँ इन्जिनमा आउने भएको हो ।
यामाहा इन्डियाका चेयरम्यान ‘इशिन चिहाना’ले आरएक्स १०० को नयाँ जेनरेशन मोटरसाइकल आउने बताएका हुन् । उनले हालै दिएको एक मिडिया अन्तर्वार्तामा आरएक्स १०० मोटरसाइकललाई पुनः भारतीय बजारमा आउने बताएका थिए ।
यसअघि पनि विभिन्न समयमा आरएक्स १०० पुनः बजारमा आउने हल्ला चल्दै आएको थियो । हाल चिहानाको अन्तर्वार्ता पश्चात् आरएक्स १०० फेरी सडकमा देख्न पाइने पक्का जस्तै भएको हो ।
उनका अनुसार आर १०० लाई पुरानै डिजाइनमा भने ल्याउन सकिने छैन । पुरानो आरएक्स १०० लाई नयाँ अवतारमा ल्याउने र यसको नाम आरएक्स नै कायम गर्ने योजना रहेको उनले बताए ।
आरएक्स १०० भारतीय बजारमा मात्रै होइन नेपाली बजारमा पनि उत्तिकै लोकप्रिय मोटरसाइकल थियो । टू स्ट्रोक इन्जिन भएको आरएक्स १०० पावर, साउन्ड र यसको डिजाइनको कारण चर्चित मोटरसाइक हो ।
यामाहाले आरएक्स १०० लाई कुन इन्जिनमा ल्याउने छ भन्ने एकिन भएको छैन । यसअघि यसमा १०० सीसी क्षमताको इन्जिन रहेको थियो । नयाँ मोडल भने कम्पनीले १२५ वा ३०० सीसी माथिको इन्जिनमा ल्याउने छ ।
यामाहाले ३०० सीसी सेग्मेन्ट आरएक्स ल्याउने हो भने यसको पुरानो चर्चाले रोयल इनफिल्डलाई धक्का पुग्न सक्छ । कम्पनीले १२५ सीसी सेग्मेन्टमा यसलाई ल्याउन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।
सन् २०२६ सम्ममा यामाहाले आरएक्सको नयाँ जेनेरेशन मोडल बजारमा ल्याउने अनुमान गर्न सकिन्छ ।

