काठमाडौं । कोरियन निर्माता कियाले भारतीय बजारमा तेस्रो मोडल ल्याउने तयारी तिब्र बनाएको रिपोर्टहरु सार्वजनिक भएका छन् । अटोकार इन्डियाले हालै प्रकाशित गरेको रिपोर्ट अनुसार कियाले ‘एवाई’ कोड नेम दिएर यसमा काम गरिरहेको छ ।
भारतमा एसयूभीको माग उच्च हुँदै जाँदा कोरियन निर्माताले हुन्डाई र कियाको लागि नै नयाँ मोडलको खोजी गरिरहेको बताइएको छ । किया र हुन्डाई दुबै हुन्डाई मोटर्सको स्वामित्वमा रहेका कम्पनी हुन् । त्यही कारण यी दुबैले प्लेटफर्म र पार्टस् नै सेयर गरेर गाडी उत्पादन गर्दै आएका छन् ।
यसअघि कियाले भारतमा उत्पादन र विक्री गर्दै आएको सेल्टोस र सोनेट हुन्डाईको क्रेटा र भेन्यूको प्लेटफर्म, इन्जिन र अधिकांश पार्टस् सेयरिङमा उत्पादन गरिएको मोडल हो । यो नयाँ मोडलमा भने कियाले लिड लिने देखिएको छ ।
कियाले ल्याउन लागेको नयाँ एसयूभी सेल्टोसभन्दा कम मूल्य र सोनेटभन्दा महंगो हुनेगरी आउने अटोकार इन्डियाले दावी गरेको छ । कियाले ‘एवाई’ एसयूभी पेट्रोल र इलेक्ट्रीक दुबै अप्सनमा ल्याउने छ । सब फोर मिटर साइजमा नै उपलब्ध हुने नयाँ एसयूभीमा सोनेटमा रहेको रियर दिइएको थोरै लेगरुमको समस्या समाधान गरेर आउने छ ।
टल र बक्सी डिजाइनमा आउन नयाँ एसयूभी किया सेल्टोस र सोनेटभन्दा विल्कुलै फरक देखिने छ । यसमा १.० लिटर टर्बो पेट्रोल इन्जिन र ईभीभने फोर ह्वील ड्राइभ अप्सनको साथ बजारमा आउने अनुमान गरिएको छ ।


