एयर मिनीको सफलतापछि विलिङको अर्को इलेक्ट्रीक कार

काठमाडौं । सानो तर, स्मार्ट सिटी कार उत्पादन गरेर चर्चा कमाएको विलिङले अर्को इलेक्ट्रीक कार देखाएको छ । अमेरिकी कम्पनी जनरल मोटर्स, चिनियाँ कम्पनी एसएआईसी ग्रुप र चीनकै अर्को कम्पनी विलिङ मिलेर विलिङ ब्राण्डमा साना सहर केन्द्रित इलेक्ट्री कार बनाउँदै आएका छन् । विलिङको एयर मिनी एक महिना अघि मात्रै नेपाल आएको थियो । यस्तोमा कम्पनीले ल्याउने अर्को नयाँ मोडलको विषयमा यहाँ चासो हुनु स्वभाविक हो ।

विलिङ एयर मिनीको तुलनामा नयाँ विङ्गो मोडल ठूलो रहेको छ । यसको लम्बाई ३९५० एमएम, चौडाई १७०८ एमएम र उचाई १५८० एमएम रहेको छ । यसमा २५६० एमएमको ह्वीलवेस पाउन सकिन्छ ।

फ्रन्ट ह्वील ड्राइभ सिस्टममा उपलब्ध विङ्गो मोडलमा दुई फरक मोटर पाउन सकिन्छ । कम्पनीले यसमा ३० किलोवाट र ५० किलोवाट क्षमताको मोटर दिएको छ । जसको हर्स पावरमा कन्भर्ट गर्दा क्रमशः ४१ र ६८ हो ।

निकै क्लासिकल डिजाइनमा यसको फ्रन्ट तयार भएको देखिन्छ । आकर्षक हेडलाइट, ब्ल्याक रुफ, बडीमा दिइएको क्रोम फिनिसिङ, ओभल टेललाइट यूनिट, रुफ स्पोइलरले यसलाई स्पोर्टी लुक्स प्रदान गरेको छ ।

फ्लोटिङ टचस्कृन, आरामदायी सिट, एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, ड्यूल टोन बडी कलर देख्न सकिन्छ । यसमा रहेको ब्याट्री साइज र रेन्जको विषय भने कम्पनीले बाहिर ल्याएको छैन । विलिङको विङ्गो कार सन् २०२३ को पहिलो क्वाटरबाटै चीनमा विक्री सुरु हुने मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् ।


Back_to_top