काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सीजी मोटर्सले नयाँ ब्राण्डको विद्युतीय सवारी नेपाल भित्र्याउने भएको छ । कम्पनीले ट्याक्सीको रुपमा संचालन गर्न नयाँ विद्युतीय कार ल्याउने भएको हो ।
ट्याक्सी व्यवसायीलाई वातावरण मैत्री बनाउन र कम खर्चमा अधिकतम आम्दानी गर्न सहज बनाउने सोचले सिजीले अब ट्याक्सी सेग्मेन्टमा विद्युतीय सवारी ल्याउन लागेको कम्पनीको भनाई छ ।
‘इन्धन्युक्त सवारीको तुलनामा विद्युतीय सवारीले बढ्दो वातारण प्रदुषण न्यूनीकरणमा सहयोग गर्छ । यससँगै निरन्तर उकालो लाग्ने इन्धनको मूल्य हेर्दा र सडकमा बिना झन्झट यात्रा गर्न रुचाउनेका लागि विद्युतीय ट्याक्सी ल्याउने भएका हौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।
सिजीले चिनियाँ स्टार्टअप कम्पनी होजोनले उत्पादन गरेको नेटा भी क्रसओभर कारबाट नेपालको विद्युतीय सवारी बजारमा डेब्यु गरेको थियो ।
कम्पनी ईभी बजारमा प्रवेश गरेको एक वर्षभन्दा कम समय भएको छ । आफ्नो पहिलो ब्राण्ड नेपाल ल्याएको कम समयमा नै ग्राहकको विश्वास जित्न सफल बनेको कम्पनीले नेटा भित्र्याए लगतै चर्चित भारतीय दुई पाङ्ग्रे ओला इलेक्ट्रीक स्कुटरको पनि बिक्री वितरण गर्दै आएको छ ।
सीजी मोटर्सले मल्टी ब्राण्ड शोरुमको कन्सेप्टमा सबै किसिमको सवारीसाधन विक्री गर्ने योजना बनाएको छ । सोहि योजना अनुरुप अब विद्युतीय ट्याक्सी नेपाल ल्याउने भएको हो ।
नेपाल आउने भनिएको विद्युतीय ट्याक्सीको ब्राण्डसँगै यसको टेक्निकल विवरण र मूल्यबारे कम्पनीले विस्तृत विवरण बाहिर ल्याएको छैन ।

