काठमाडौं । दुगड ग्रुपले इलेक्ट्रीक स्कुटर नेपाल भित्र्याउने भएको छ । दुगड ग्रुपले पहिलो पटक दुईपांग्रे इलेक्ट्रीक ब्राण्ड भित्र्याउने तयारी गरेको हो । एमभी दुगडले इन्डोनेशियाली ब्रान्ड ‘गेसिट्स’ ब्राण्ड नेपालमा सार्वजनिक गर्ने तयारी गरेको हो ।
कम्पनीले नक्सालमा गेसिट्सका लागि शोरुमसमेत तयार गरिसकेको छ । कम्पनीको शोरुम निर्माणको काम अन्तिम चरणमा पुगिसकेको छ भने अबको केही दिन भित्रै ब्राण्ड सार्वजनिक गर्ने अनुमान गरिएको छ ।
कम्पनी कुन मोडलको स्कुटर सार्वजनिक गर्ने भन्ने बारेमा कुनै पनि जानकारी बाहिर ल्याएको छैन । गेसिट्सका ब्राण्डले दुई मोडलका स्कुटर उत्पादन तथा विक्री गर्दै आएको छ । कम्पनीले यी दुवै स्कुटर नेपाल भित्र्याउने अनुमान गरिएको छ ।
कम्पनीको पोर्टफोलियोमा गेसिट्स जी १ र राया जी गरी दुई मोडल रहेको छ । कम्पनीको जी १ स्कुटर स्पोर्टी डिजाइनको रहेको छ । यसमा २ किलोवाट क्षमताको मोटर रहेको छ । यसले ६।७ हर्सपावर तथा ३० एनएम टर्क जेनेरेट गर्छ ।
यो स्कुटरमा ७० भोल्ट २० एम्पिएरको लिथियम ब्याट्री रहेको छ । यसलाई एकपटक फुलचार्ज गरेर ५० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसमा डबल ब्याट्रीको प्रयोग गर्न सकिन्छ भने १०० किलोमिटरसम्म गुडाउन सकिन्छ ।
यो स्कुटरको फ्रन्टमा टेलिस्कोपिक र रियरमा मोनोशक सस्पेन्सन रहेको छ । त्यस्तै, डबल डिस्क ब्रेक, एलईडी लाइट, राइड मोड, फुल डिजिटल डिस्प्ले जस्ता फिचर पाउन सकिन्छ ।
गेसिट्स जी १ को २ कोड ८९ लाख ७० हजार इन्डोनेशियाली रुपैयाँ रहेको छ । यो मूल्य २ लाख ५० हजार नेपाली रुपैयाँ हाराहारी हो ।

