गल्छी-स्याफ्रुबेँसी सडक असोज भित्रै संचालनमा ल्याइने

काठमाडौं । बाढीका कारण करिब १ महिनादेखि बन्द गल्छी-स्याफ्रुबेँसी सडकखण्डमा यही असोजभित्र यातायात संचालनमा ल्याइने भएको छ ।

सरकारले जतिसक्दो चाँडो उक्त संडक खुलाउन मर्मतलाई तीव्रता दिएको हो । गल्छीदेखि नुवाकोटको विदुरसम्मको सडकखण्डको मर्मत गरिसकिएको छ भने त्यो बीच (देवीघाट)मा एक्रो ब्रिज समेत जडान गरिसकिएको छ।

सोही सडकखण्डको विदुरमा क्षतिग्रस्त बनेको सडकखण्डमा नेपाली सेनाले ब्लास्टिङ गरी ट्रयाक खोल्ने काम सुरू गरिसकेको छ। अर्कोतर्फ रसुवाको बेत्रावतीमा आवश्यक बेलीब्रिज जडान गर्न फाउण्डेशन निर्माण सुरू भएको छ।

बेत्रावती-धुन्चे हुँदै स्याफ्रुबेँसीसम्म सडकखण्डमा समस्या छैन। स्याफ्रुबेँसीमा एउटा बेलीब्रिज जडान गर्नुपर्ने देखिएको छ। त्यसका लागि तयारी भइरहेको पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

स्याफ्रुबेँसीबाट रसुवागढीतर्फको सडकखण्ड पूर्णरूपमा क्षतिग्रस्त छ। त्यहाँ नयाँ सडक निर्माणका लागि सर्वेक्षण सुरू भइसकेको छ।


Back_to_top