एमजी एस-५ र नेभो क्यू-०५ मध्ये कुन किन्दा बढी फाइदा

काठमाडौं । मूल्यका हिसाबले एमजी एस-५ लक्जरी भेरियन्ट र नेभो क्यू-०५ एउटैमा पाइन्छ । दुवै गाडीको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ ।

एमजी एस-५ यो सेग्मेन्टमा विगत डेढ वर्षदेखि उपलब्ध मोडल हो । संख्यात्मक हिसाबले पनि १ हजार ३०० युनिट माथि यसको आयात भइसकेको देखिन्छ ।

यही सेग्मेन्ट र मूल्यमा प्रतिस्पर्धा गर्नेगरी भर्खरै चांगानको नेभो क्यू-०५ नेपाल बजारमा आएको छ । अघिल्लो महिना मात्रै नेपालमा बुकिङ खुला भएको नेभो क्यू-०५ ग्राहकलाई डेलिभरी दिन थालिएको छ ।

५० लाख रुपैयाँ पर्ने यी दुई एसयूभी फरक ‘क्यारेक्टर’ बोकेर नेपाली बजारमा प्रवेश गरेका छन् । एमजी एस-५ चालकलाई केन्द्रमा राखेर बनाएको जस्तो लाग्छ । रियर ह्वील ड्राइभ, पछाडि इन्डिपेन्डेन्ट सस्पेन्सन ९९ किलोवाटको मोटर र २५० न्युटन मिटर टर्कले एस-५ सन्तुलित र फुर्तिलो लाग्छ ।

नेभो क्यू-०५ भने यात्रु, सामान र प्रविधिलाई केन्द्रमा राखेर तयार गरिएको देखिन्छ । अगाडिका पाङ्ग्राबाट शक्ति प्राप्त गर्ने यो गाडीमा ५४० लिटर बुट स्पेस, लामो ह्वीलबेस र धेरै टेकफिचर पाउन सकिन्छ । जुन चालकमुखी भन्दा सम्पूर्ण यात्रुको सहजताको लागि तयार भएको मोडल हो ।

ब्याट्री र रेन्ज

एमजी एस-५ लक्जरीमा ४९.१ किलोवाट आवर क्षमताको ब्याट्री छ । यसलाई सिंगल चार्जमा ३४० किलोमिटर गुडाउन सकिन्छ ।

नेभो क्यू-०५मा ५१.९ किलोवाट आवरको ब्याट्री छ । यसको दाबी गरिएको रेन्ज ३६० किलोमिटर हो ।

यी दुवै गाडीको रेन्ज डब्लूएलटीपीले दाबी गरेको हो । मेरोअटोले पनि दुवै गाडीको रिभ्यू गरेका कारण डब्लूएलटीपीको आसपासकै रेन्ज पाउन सक्ने देखेको थियो ।

स्मरण रहोस् । ईभीको रेन्ज धेरैहदसम्म चालकको ‘ड्राइभिङ ह्याविट’सँग जोडिएको हुन्छ ।

साइजमा थोरै फरक

दुवै गाडीको बाहिरी लम्बाइ लगभग उस्तै छ । एमजी एस-५को लम्बाइ ४४७६ एमएम छ । नेभो क्यू-०५को ४४३५ एमएम छ । समग्रमा एमजी एस-५ क्यू-०५ भन्दा ४१ एमएम लामो छ ।

चौडाइमा भने क्यू-०५ एमजी एस-५ भन्दा ६ एमएम फराकिलो छ । एस-५को चौडाइ १८४९ एमएम छ । नेभो क्यू-०५ भने १८५५ एमएम फराकिलो छ ।

उचाइमा एमजी एस-५ २१ एमएमले अग्लो छ । एस-५ को उचाइ १६२१ एमएम हो भने क्यू-०५ को १६०० एमएम छ । ह्वीलबेसमा भने क्यू-०५ अगाडि देखिन्छ । एस-५ मा २७३० एमएम र क्यू-०५को २७३५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

 

सामान राख्ने ठाउँ

बुट स्पेश धेरै भएको गाडी किन्नेको लागि नेभो क्यू-०५ ले लोभ्याउँछ । यसमा ५४० लिटरको बुट स्पेश छ । एस-५ मा ४५३ लिटरको बुट स्पेस पाउन सकिन्छ ।

ड्राइभिङ सिटबाट हेर्दा

एमजी एस-५मा बस्ने बित्तिकै चालकलाई ध्यानमा राखेर डिजाइन भएको एसयूभी महसुस हुन्छ । मोटर पावर र टर्कको कम्बिनेसन उत्कृष्ट छ ।

क्यू-०५ पनि पावरमा कमजोर छैन । यसमा १२० किलोवाटको मोटर छ । तर, १९० न्युटन मिटर टर्क एस-५ को भन्दा कम लाग्छ । एस-५ को रियर ह्वील ड्राइभ अल्ली बढी ‘ट्रिकी’ र लोभ्याउने खालको छ ।

सहरभित्र चलाउदा दुवै पर्याप्त फुर्तिला छन् । हाइवेमा भने एस-५ले शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको स्पीड ७.१ सेकेण्डमा भेट्छ । क्यू-०५लाई यही गति लिन करिब ८.२ सेकेण्ड लाग्ने दाबी छ ।

खराब सडकमा कुन सहज ?

काठमाडौं उपत्यकाको सडक, भित्री सडकका खाल्डा, स्पीड ब्रेकर र हाइवेका खाल्डाखुल्डीमा दुवै गाडी चलाउँदा फरक चरित्र भेटिन्छ ।

 

क्यू-०५को अगाडिको भाग सहज छ । सामान्य गति र समथर सडकमा यात्रुले पर्याप्त आराम पाउँछन् । तर, पछाडि रहेको इन्डिपेन्डेन्ट सस्पेन्सनले खाल्डाखुल्डीमा एस-५ लाई राम्रो बनाउँछ । तथापि, ग्राउण्ड क्लियरेन्समा क्यू-०५ को बढी छ । त्यसको फाइदा उसलाई पुग्छ । क्यू-०५ मा १९० एमएम र एस-५ मा १७५ एमएमको ग्राउण्ड क्लियरेन्स छ ।

क्याबिनमा प्रविधिको प्रभाव

आजकाल कार किन्नेहरूलाई क्याबिनको बनोटसँगै प्राविधिको प्रयोग व्यापक भएको चाहिन्छ । एमजीले एस-५मा १२.८ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र १०.२५ इन्चको इन्फर्मेशन डिस्प्ले दिएको छ ।

स्क्रीनको मामलामा क्यू-०५ अगाडि छ । यसमा १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम र १०.१७ इन्चको इन्फर्मेसन डिस्प्ले छ । क्यू-०५ को क्याबिनमा वायरलेस मोबाइल चार्ज, वरपरको दृश्य हेर्न सकिने ५४० डिग्री क्यामेरा, गाडीमै जडान गरिएको दृश्य रेकर्ड गर्ने उपकरण, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले तथा आधुनिक एडास फिचर पाउन सकिन्छ ।

एमजीले पनि एस-५मा ३६० डिग्री क्यामेरा, वायरलेस चार्जर, वायरलेस एन्ड्रोइड अटो र एप्पल कार प्ले, भेहिकल टु लोड सुविधा र एमजी पाइलट (एडास) दिएको छ ।

बाहिरी डिजाइन

कुन कारको डिजाइन राम्रो भन्ने व्यक्तिगत रुचीको विषय हो । एस-५को अगाडिको भाग सफा र परिपक्व छ । यसमा प्रयोग भएका लाइटको बनोट, अगाडिको क्लोज अफ ग्रिल र क्लिन बडी डिजाइनले आधुनिक विद्युतीय एसयूभीको झल्को दिन्छ ।

 

क्यू-०५ भने पहिलो नजरमै नयाँ पुस्ताको विद्युतीय गाडी जस्तो देखिन्छ । आकर्षक हेडलाइट, कनेक्टेड लाइटबार, क्लिन अगाडिको डिजाइन र सार्प बडी डिजाइनको कारण यसलाई युवाहरुले धेरै मनपराउन सक्छन् । दुवै एसयूभीमा १८ इन्चको ह्वील साइज पाउन सकिन्छ ।

निष्कर्ष

एमजी एस-५ र नेभो क्यू-०५लाई केही दिनको प्रयोग, प्राविधिक संरचना र मूल्यलाई एकै ठाउँमा राखेर हेर्दा दुवैको उद्देश्य स्पष्ट देखिन्छ ।

एमजी एस-५ चालकलाई केन्द्रमा राखेर तयार गरिएको विद्युतीय एसयूभी हो । नेभो क्यू-०५ भने परिवार र प्रविधिलाई केन्द्रमा राखेर तयार गरिएको विद्युतीय एसयूभी हो । अब तपाईंले कुन किन्दा बढी फाइदा पाएको महसुस गर्नुहुन्छ । दुवै गाडी टेस्ट ड्राइभ गर्नुहोस् ।


Back_to_top