काठमाडौं । होण्डाले भारतमा आफ्नो लोकप्रिय सीबी ३५० सिरिजको अपडेटेड भेरियन्ट र सीबी ५०० सीसीमा नयाँ मोडल सार्वजनिक गरेको छ ।
कम्पनीले भारतीय बजारमा सीबी ३५०, सीबी ३५० आरएस, सीबी ३५० सी र सीबी ५०० गरी ४ नयाँ मोटरसाइकलको बिक्री सुरू गरेको हो ।
कम्पनीले सीबी सिरिजलाई कुल ११ भेरियन्टमा उपलब्ध गराएको छ । जसमा सीबी ३५० को स्ट्याण्डर्ड, डिलक्स र क्रोम भेरियन्ट, सीबी ३५० आरएसको स्ट्याण्डर्ड र क्रोम भेरियन्ट, सीबी ३५० सीको स्ट्याण्डर्ड, डिलक्स र स्पेसल एडिसन तथा सीबी ५०० मोडलमा अलोय, स्पोक र टप भेरियन्ट समावेस छन् ।
भारतीय बजारमा सीबी ३५०, सीबी ३५० आरएस, सीबी ३५० सी र सीबी ५०० मोटरसाइकलको सुरूआती एक्स शोरुम मूल्य क्रमशः १ लाख ९५ हजार २०० भारु, १ लाख ९९ हजार ९०० भारु, २ लाख ३०० भारु, २ लाख ७५ हजार भारु तोकिएको छ ।
होण्डाले जुलाईमा गरेको नयाँ उत्पादन घोषणामा यी चार मोटरसाइकल सार्वजनिक रूपमा देखाएको थियो । अब भने आधिकारिक रूपमा बिक्री सुरू गरेको हो । ग्राहकले होण्डा बिगविङ डिलरमार्फत मोटरसाइकल बुक गर्न सक्नेछन् ।
अपडेटेड सीबी ३५० मा गोलो हेडलाइट, राउण्ड फ्युल ट्यांक र क्रोम फिनिससहितको आधुनिक क्लासिक डिजाइनलाई निरन्तरता दिएको छ । होण्डाले सार्वजनिक गरेको मोटरसाइकलमा निलो फ्युल ट्यांक, कन्ट्रास्ट पिनस्ट्राइप, क्रोम मडगार्ड तथा एग्जस्ट र ब्राउन सिट दिइएको छ ।
त्यस्तै, सीबी ३५० आरएसमा तुलनात्मक रूपमा स्पोर्टी रोडस्टर शैली दिइएको छ । यसमा डार्क फिनिस, साइड प्यानलमा ओरेन्ज एक्सेन्ट, ब्ल्याक एग्जस्ट र फोर्क गेटर्स देखिन्छन् । छोटो रियर बडीवर्क तथा फरक सिट डिजाइनले यसलाई सीबी ३५० र सीबी ३५० सी भन्दा फरक बनाएको छ ।
सीबी ३५० सी भने थप परम्परागत रेट्रो शैलीमा केन्द्रित छ । यसमा ठूला मडगार्ड, ट्यांक नी प्याड, क्रोम एग्जस्ट र स्प्लिट ब्राउन सिट उपलब्ध छ । होण्डाले सीबी ३५० सीको स्पेसल एडीसनलाई विशेष रूपमा प्रस्तुत गरेको छ ।
तीनवटै मोटरसाइकलमा होण्डाको परिचित ३४८.६ सीसी, एयर कुल्ड, सिंगल सिलिण्डर इन्जिन प्रयोग गरिएको छ ।
होण्डाका यी तीनवटै मोडलमा होण्डा रोडसिकं कनेक्टिभिटी, असिस्ट तथा स्लिपर क्लच र डुअल च्यानल एबीएस उपलब्ध छ । यसबाहेक मोटरसाइकलमा पूरा एलईडी लाइटिङ, होण्डा सेलेक्टेवल टर्क कन्ट्रोल तथा अगाडि र पछाडि दुवैतर्फ डिस्क ब्रेक पाइन्छ ।
यसपटकको सीबी अपडेटमा होण्डा मुख्यतः डिजाइन, कलर तथा भेरियन्टमा केन्द्रित देखिएको छ । यसका अलावा भेरियन्ट अनुसार केही फिचरहरू भने फरक फरक रहेका छन् ।
होण्डा सीबी ५०० मोटरसाइकलले लामो समयदेखि भारतीय बजारमा खाली रहेको ठूलो क्षमताको एयर कुल्ड सिंगल सिलिण्डर मोटरसाइकलको सेग्मेन्टमा प्रवेश गरेको बताइएको छ ।
सीबी ५०० मोटरसाइकलमा नयाँ ५०१ सीसी क्षमताको सिंगल सिलिण्डर, एयर तथा आयल कुल्ड इन्जिन प्रयोग गरिएको छ । उक्त इन्जिनले अधिकतम २८ एचपी पावर र ४३.३ एनएम टर्क उत्पादन गर्छ । यो इन्जिनसँगै सीबी ५०० होण्डाको भारतीय बजारमा उपलब्ध सबैभन्दा ठूलो एयर कुल्ड सिंगल सिलिण्डर मोटरसाइकल बनेको छ ।
यसको बेस भेरियन्टमा अलोय ह्वील, मध्य भेरियन्टमा क्रस–स्पोक ट्युबलेस रिम तथा टप भेरियन्टमा स्पोक ह्वील सेटअपसँगै विशेष कलर तथा ग्राफिक्स विकल्प दिइएको छ ।
तीनवटै भेरियन्टमा होण्डा सेलेक्टेबल टर्क कन्ट्रोल, स्लिपर क्लच, डुअल च्यानल एबीएस, डिस्क ब्रेक, एनालग–डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, होण्डा रोडसिंक कनेक्टिभिटी लगायतका फिचरहरू उपलब्ध छ ।
सीबी ५०० सँगै होण्डाले भारतमा आफ्नो ठूलो क्षमताको सिंगल सिलिण्डर मोटरसाइकल पोर्टफोलियोलाई विस्तार गरेको छ ।

