काठमाडौं । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ३ दोभानस्थित निर्माणाधीन सुरुङमार्ग निर्माण ७० प्रतिशत सकिएको छ ।
११२६ मिटर लामो सिद्धबाबा सुरुङमार्गको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएको हो । अब इलेक्ट्रोमेकानिकल सम्बन्धी काम मात्र बाँकी रहेको छ ।
आयोजना प्रमुख प्रमुख नवराज बास्तोलाले सुरुङमार्गको हालसम्म भौतिक प्रगति ६९.७० प्रतिशत र वित्तीय प्रगति ६३.५५ प्रतिशत पुगेको जानकारी दिए ।
उनले मंसिर भित्र सुरुङमार्ग संचालनमा लयाउने गरी निर्माणलाई अगाडि बढाएको बताए । यद्यपि, भोटेकोशी बाढीले सुरुङमार्गका लागि ल्याइएको विद्युतीय सामग्री बगाएपछि सवारी संचालन गर्ने पूर्वनिर्धारित योजना केही समय प्रभावित हुन पुगेको उनले बताए ।
‘सुरुङभित्रको सडक निर्माण र अन्य सिभिल संरचनाको काम सम्पन्न भएको छ । अब सुरुङ भित्र उपकरण जडान बाँकी छ,’उनले भने, ‘बर्खा र भोटेकाशी बाढीका कारण निर्माण सामग्री आउन ढिलाइ भएकाले एक महिनापछि धकेलिएको छ । अब एक दुई दिनमै निर्माण सामग्री आएपछि टनेल भित्रको काम अगाडि बढाउँछौँ । मङ्सिर १५ गतेभित्र सवारी सञ्चालन गर्छौं,’ उनले भने ।
उनले हाल सुरुङभित्र सडकको पिच सकेर रङरोगन चलिरहेको बताए । उनका अनुसार टेक्निकल भवनको फिनिसिङ पनि भइरहेको छ । हालसम्म मुख्य सुरुङसहित बाइवास सुरुङ खन्ने, लाइनिङ, १४ वटा कल्भट, टनेल भित्रको प्रिमेन्टको काम सकिएको छ ।
सुरुङ संचालनमा लयाएपछि सुरुङको बाहिरी भागलाई पहिरोबाट जोगाउन रकसेड, रकफल व्यारियर र स्लोप प्रोटेक्सनका काम गरिने उनले बताए ।
आयोजनाको म्याद २०८३ फागुन ९ गतेसम्म रहेको छ । सुरुङ भित्रको काम तोकिएको समयमै सम्पन्न हुने आयोजनाको दाबी छ ।
सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका ३ दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्ग १११६ मिटर लामो छ । यसको चौडाइ चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहने छ ।
२०७८ साल फागुनमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनसँग निर्माण ५ वर्ष भित्र काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरिएको थियो । यस आयोजनाको कुल लागत ७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ ।
यो सुरुङमार्गको स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअप्रेशन (एसडीसी) ले २०७५ सालमा यो क्षेत्रको सर्वेक्षण गरी सुरुङमार्गको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको थियो ।
वि.सं. २०७७ सालमा मन्त्रिपरिषद् बैठकले बजेट विनियोजन गरेसँगै २०७८ साल जेठ ९ मा सडक विभागले अन्तर्राष्ट्रिय रुपमा बोलपत्र आह्वान गरी सुरुङमार्ग निर्माणक ठेक्का लगाएको थियो । २०७८ फागुनमा निर्माण ठेक्का सम्झौता भए पनि कम्पनीले २०७९ सालको अन्तिमतिर सुरुङ खन्न थालेको थियो ।
सिद्धार्थ राजमार्गको तल्लो सिद्धबाबा मन्दिरबाट पाल्पाको दोभानसम्म अत्यधिक पहिरो झर्ने क्षेत्रअन्तर्गत पर्छ। सुरुङमार्ग बनेपछि गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, बागलुङ लगायत जिल्लामा आवतजावत गर्न सहज हुनेछ ।

