मोटरसाइकल किन्नलाई धेरै ब्याज तिर्नु नपर्ने, यस्तो छ ब्राण्ड अनुसारको ब्याज

काठमाडौं । बजारमा तरलता अभावका कारण दुईपाङ्ग्रे सवारीसधानको विक्रीमा भारी गिरावट आइरहेको छ । विक्रीमा गिरावट आएको कारण मोटरसाइकल विक्रेता कम्पनीहरुले आयातमा समेत कटौती गरेका छन् ।

चालु आर्थिक वर्षको ७ महिनामा १ लाख यूनिट पनि दुईपाङ्ग्रे सवारीसाधन नेपाल आएको छैन । अघिल्लो वर्ष ३ लाख ५० हजार यूनिट हाराहारीमा आयात भएको दुईपाङ्ग्रे साधनको आयात ६० देखि ७० प्रतिशतसम्मले घट्ने अनुमान गरिएको छ ।

तरलता अभावका कारण सवारीसाधनको विक्रीमा कमी आएको भनिएता पनि मोटरसाइकल तथा स्कुटरको हकमा भने त्यस्तो देखिदैन । अहिले बैंकले चारपाङ्ग्रे सवारी साधनमा दिने कर्जामा कडाइ गरेता पनि मोटरसाइकल किन्ने ग्राहकले शून्य प्रतिशत ब्याजमा नै कर्जा पाइरहेको अवस्था छ ।

केही कम्पनीहरुले शून्य प्रतिशतमा नै मोटरसाइकल तथा स्कुटर किन्नेलाई कर्जा उपलब्ध गराउँदै आएका छन् । अधिकांश विक्रेताहरुले ६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको देखिन्छ ।

अहिले ग्राहकले गर्ने डाउन पेमेन्ट हेरेर कम्पनीहरुले शून्य प्रतिशतदेखि १७ प्रतिशतसम्म ब्याजदरमा कर्जा दिँदै आएका छन् ।

होन्डा मोटरसाइकल तथा स्कुटरको नेपालमा लागि आधिकारिक विक्रेता कम्पनी स्याकार ट्रेडिङले ६ प्रतिशतदेखि १७ प्रतिशतसम्म ब्याजदरमा मोटरसाइकल तथा स्कुटर उपलब्ध गराउदै आएको छ । स्याकार ट्रेडिङ कम्पनी अन्तर्गतको स्याकार इन्भेष्टमेन्ट कम्पनीले होन्डाका ग्राहकलाई सहज रुपमा कर्जा उपलब्ध गराउँदै आएको जनाएको छ । ग्राहकले गर्ने डाउन पेमेन्ट र किस्ता अवधिका आधारमा कर्जाको ब्याजदर निर्धारण हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, हिरोका मोटरसाइकल तथा स्कुटर विक्रेता कम्पनी एनजीएम हिरोले शून्यदेखि १६ प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ । कम्पनीले ६० प्रतिशत डाउन पमेन्ट गर्ने र बाँकी रकम १२ महिनाको किस्तामा बुझाउँने ग्राहकलाई शून्य प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएको छ ।

डर्ट मोटरसाइकल विक्रेता कम्पनी क्रसफायरलेसमेत शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल विक्री गर्दै आएको छ । कम्पनीले मोटरसाइकलको मोडल तथा डाउन पेमेन्ट रकम हेरेर शून्य प्रतिशतदेखि १२ प्रतिशत ब्याजदरमा मोटरसाइकल उपलब्ध गराउँदै आएको जनाएको छ ।

नेपालमा मोटरसाइकल विक्री गर्ने अधिकांस कम्पनीहरु बजाज, टीभीएस, सुजुकी जस्ता कम्पनीहरुले १२ देखि १७ प्रतिशतसम्म ब्याजदरमा कर्जा उपलब्ध गराउँदै आएका छन् ।


Back_to_top