उपत्यकाको सडकमा देखियो टाटाको विद्युतीय ट्याक्सी

काठमाडौं । टाटा मोटर्सले उत्पादन गरेको नयाँ इलेक्ट्रीक सेडान कार काठमाडौं उपत्यकाको सडकमा देखिएको छ ।

नेपालका लागि टाटाको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ प्रालिले ल्याएको ‘एक्सप्रेस-टी’ विद्युतीय कार ट्याक्सीको रूपमा उपत्यकाको सडकमा देखिएको हो ।

हाल परीक्षणकै क्रममा रहेका टाटाको एक्सप्रेस-टी ईभी नेपालमा पहिलोपटक ट्याक्सीको रूपमा प्रयोगमा ल्याउन लागिएको हो । यसअघि सार्वजनिक यातायातको रूपमा विद्युतीय बसहरू संचालनमा रहे पनि विद्युतीय ट्याक्सी भने प्रयोगमा आएका छैनन् ।

यो ईभी आगामी सातासम्ममा सार्वजनिक हुने तयारी अन्तिम चरणमा पुगेको कम्पनी स्रोतले बताएको छ ।‘नेपालमै पहिलोपटक ट्याक्सीमा रुपमा प्रयोगमा ल्याउन लागिएको टाटा एक्स्प्रेस टीको हाल रुट पर्मिट लिने, कागजपत्र मिलाउने लगायत काम भइरहेको छ, स्रोतले मेरो अटोसँग भन्यो, ‘साथै, चालकहरूलाई विद्युतीय सवारीको इकोसिस्टममा सहजीकरण गराउने काम भइरहेको । सबै काम सकिएपछि हामी चाँडै सार्वजनिक गर्छौं ।’

‘एक्सप्रेस-टी’लाई टिगोर ईभीको फेसलिफ्ट मोडल भनिन्छ । कम्पनीले हाल विक्रीवितरण गर्दै आएको टिगोर ईभीमा केही परिमार्जन गर्दै इलेक्ट्रिक ट्याक्सीका रूपमा यो ईभी नेपाल ल्याएको हो।

यो ईभीमा देखिने ट्राइएरो प्याटर्नसहितको नयाँ ग्रिल यसको अगाडिको भागमा भएको सबैभन्दा ठूलो परिमार्जन हो । कम्पनीले यसमा २६ किलोवाट आवरको ब्याट्री दिएको छ ।

यसमा भएको ५५ किलोवाटको मोटरले ७४ हर्स पावर र १७० एनएम टर्क प्रदान गर्छ । एआरएआईले यसको रेञ्ज एक पटकको फुल चार्जमा २१३ किलोमिटर प्रमाणित गरेको छ । तर, कम्पनीले भने १६५ किलोमिटर रेञ्ज प्रदान गर्ने दाबी गरेको छ ।

यसको टपस्पीड क्षमता ८० किलोमिटर प्रतिघण्टा रहेको छ । यो ईभीलाई घरायसी बिजुलीबाट ब्याट्री फुलचार्ज गर्न भने ८ घण्टा लाग्ने जनाइएको छ । तर, फास्ट चार्जरबाट शून्यदेखि ८० प्रतिशत चार्ज गर्न १ घण्टा ३० मिनेट लाग्छ ।

यसमा एयरब्याग, एबीएस, रियर पार्किङ सेन्सर, एलइडी टेल ल्याम्प, १४ इन्चको अलोय ह्वील, अटो क्लाइमेट कन्ट्रोल, हर्मनको साउन्ड सिस्टम, तीन प्रकारको ड्राइभिङ मोड, पावर विन्डो, पावर विङ मिरर, रमोट लक जस्ता फिचर उपलब्ध रहने छ ।


Back_to_top