भैरहवा आइपुग्यो नेपालका लागि हिँडेको ‘विलिङ एयर मिनी’

काठमाडौं । नेपालका लागि हिँडेको इलेक्ट्रीक मिनी कार ‘विलिङ’ भैरहवा पारी आइपुगेको छ । नेपालको लागि आधिकारिक विक्रेता ईभी नेपाल मोटर्सले चीनको चर्चित ब्राण्ड विलिङको सानो ईभी ‘विलिङ एयर मिनी’ नेपाल ल्याएको हो ।

नेपाल आउने विलिङ एयर मिनी इन्डोनेशियामा उत्पादन भएको हो । यो गाडी काठमाडौंमा भने वैशाख पहिलो सातासम्म आइपुग्ने कम्पनी स्रोतले मेरोअटोलाई बतायो ।

कम्पनीले यसअघि केही यूनिट मिनी कार नेपाल ल्याएर बुकिङ लिएकोमा अब भने विक्रीका लागि विलिङ ईभी नेपाल ल्याउन लागेको हो । पहिलाे लटमा ५२ यूनिट विलिङ एयर मिनी नेपाल भित्रिन लागेकाे हाे । याे ईभी नेपालमा दुई भेरियन्ट स्ट्याण्डर्ड र लङ रेन्जमा उपलब्ध हुनेछ । स्ट्याण्डर्ड रेन्ज मोडलले २०० किमी र लङ रेन्ज मोडलले ३०० किमी रेन्ज प्रदान गर्ने कम्पनीको दाबी छ ।

यसमा दुई मोटर र दुई ब्याट्री अप्सनमा उपलब्ध हुनेछ । यसको सर्ट रेन्ज भेरियन्टमा १७.३ किलोवाट आवरको ब्याट्री छ । यसमा मोटर पनि ३० किलोवाट क्षमताको मात्रै छ । यसले एक पटकको फुलचार्जमा २०० किमी रेन्ज दिने कम्पनीले दाबी छ ।

लङ रेन्ज मोडल भने २६.७ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध छ । यसमा पनि ३० किलोवाट क्षमताको मोटर दिइएको छ । यसले एक पटकको फुलचार्जमा ३०० किमी रेन्ज दिने कम्पनीको दाबी छ ।

यो मिनी कारको लम्बाइ २९७४ एमएम, चौडाइ १५०५ एमएम र उचाइ १६३१ एमएम रहेको छ । दुई ढोका र चार सिट अप्सनमा नेपाल आउने विलिङ एआई फिचर भएको मिनी ईभी हो ।

सुरक्षाको लागि यसमा एयरब्याग, ईबीडी सहितको एबीएस, टायर प्रेसर मोनिटर, रिभर्स पार्किङ सेन्सर, रिभर्स क्यामेरा जस्ता फिचर उपलब्ध छन् । कम्पनीले यसको ब्याट्रीमा ८ वर्षको वारेन्टी दिएको छ ।

बज्र ग्रुप अन्तगर्तको ईभी नेपाल मोटर्सले स्ट्याण्डर्ड रेन्ज मोडलको मूल्य २४ लाख ९९ हजार र लङ रेन्ज मोडलको मूल्य ३० लाख ९९ हजार तोकेर बुकिङ लिएकाे थियाे ।


Back_to_top