काठमाडौं । सन् २०१७ मा पहिलो पटक नेपाल आएको बीवाइडीले करिब ४ वर्ष निकै कठिन परिस्थितिमा ईभी विक्री गरेको थियो । ठूलो साइजको ईभी ल्याएर सरकारी संयन्त्रमा मात्रै विक्री गर्दै आएको बीवाइडीलाई नयाँ जेनेरेशन ई–सिक्स आएसँगै आफ्नो विक्री बढाउन सहयोग भयो ।
साइमेक्स इंकले बीवाइडीको बजारीकरण विस्तारै गर्ने नीति लिएर नै आफ्ना उत्पादन बजारमा पठाएको थियो । उसले नयाँ जेनेरेशन ई–सिक्ससँगै एमथ्री भ्यान पनि आयात सुरू गरेर विद्युतीय गाडीमा भेरियसन दिन सफल भएको थियो ।
बीवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंकको प्रबन्ध निर्देशक यमुना श्रेष्ठ भन्छिन्, ‘सरकारी निकायलाई विश्वस्त बनाएपछि पब्लिकमा कन्फिडेन्ट आउँछ भन्ने लागेर विस्तारै काम गर्दै आयौं । हामीसँग पुरानो ई–सिक्सदेखि नयाँ एमथ्री भ्यानसम्म भएपछि ग्राहकले छनोट पाउनु भयो । त्यसले हामीलाई बजारमा रहन सहयोग पुग्यो ।’
बीवाइडीको मुख्य टर्निङ प्वइन्ट भने एटो थ्री भयो । गत दशैंको आसपासमा नेपाल आएको एटो थ्री १५० किलोवाटको मोटरको बाबजूद ६ महिना भित्रै ४० यूनिट विक्री भयो । झण्डै ९० लाख रुपैयाँ मूल्य रहेको ४० यूनिट ईभी विक्री हुनुलाई ब्राण्डकै टर्निङ प्वाइन्ट मान्न सकिन्छ ।

अहिले बीवाइडीसँग एटो थ्री १०० किलोवाट क्षमताको मोटरमा पनि उपलब्ध हुँदैछ । १०० किलोवाटको मोटरमा आएसँगै एटो थ्रीको मूल्य ६५ लाखभन्दा कम भएको छ । पहिलेको तुलनामा २५ लाख कम मूल्य भएसँगै यसलाई किन्न चाहने मानिस धेरै भएका छन् । अहिले साइमेक्स इंकसँग ३०० बढी ग्राहक एटो थ्री बुकिङ गरेर कुरिरहेका छन् ।
डल्फिन ह्याचब्याक आउँदै
बीवाइडी एटो थ्रीको सफलतासँगै कम्पनीले डल्फिन ह्याचब्याक नेपालमा विक्री सुरू गर्ने तयारी गरिरहेको छ । कम्पनीले डल्फिन ह्याचब्याक अबको केही समयपछि नै नेपालमा विक्री सुरू गर्दैछ ।
डल्फिन मोर्डन डिजाइन, उत्कृष्ट रेन्ज र आकर्षक मूल्यको कारण चर्चामा रहेको मोडल हो । बीवाइडीको ३.० प्लेटफर्म र एलएफपी ब्लेड ब्याट्री डल्फिनको बलियो पक्ष हो ।

बाहिरी आवरणसँगै नयाँ डल्फिनको इन्टेरियर पनि उत्कृष्ट रहेको छ । फ्ल्याटबटम मल्टी फङ्गशनल स्टेरिङ ह्वील, एटो थ्रीमा रहेको ५ इन्च फुल एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १२.८ इन्चको फ्लोटिङ सेन्ट्रल कन्ट्रोल स्क्रीन, इलेक्ट्रीकल्ली एड्जस्ट गर्न मिल्ने सिट, पछाडि पनि आमरेष्ट डल्फिनमा पाउन सकिन्छ ।
कम्पनीले यसमा दुई मोटर अप्सन दिएको छ । तर, नेपाल भने एउटा मात्रै मोटरमा उपलब्ध हुनेछ । यसमा ७० किलोवाटको मोटर रहने छ । यो कारमा ४४.९ किलोवाट आवर क्षमताको ब्याट्री दिइएको छ । यसले सिंगल चार्जमा ४२० किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।
डल्फिनपछि सीगल
चीनमा केही दिनअघि मात्रै विक्री सुरू भएको इन्ट्री लेभल ह्याचब्याक सीगलले निकै राम्रो बुकिङ पाइरहेको छ । बीवाइडीले चीनमा जारी संघाई अटो शो २०२३मा बीवाइडी ‘सीगल’ सार्वजनिक गरेको थियो ।
बीवाइडी सीगल ईभी ‘ओसियन एस्थेटिक्स’ डिजाइन कन्सेप्टमा आधारीत रहेको छ । कम्पनीले यसलाई बीवाइडी डल्फिनभन्दा स्पोर्टी लुक्स दिएको छ । यसको हेडलाइटमा दिइएको लाइट स्ट्राइपले आकर्षक बनाएको छ ।

सीगल ह्याचब्याक कार बीवाइडीको ३.० ई-प्लेटफर्ममा आधारीत रहेको छ । यसमा २५०० एमएमको ह्वीलबेस पाउन सकिन्छ । कम्पनीका अनुसार सीगलमा ५५ किलोवाट क्षमताको पर्मानेन्ट सिन्क्रोनस मोटर उपलब्ध छ ।
यसमा दुईवटा ब्याट्री अप्सन पाउन सकिन्छ । पहिलो ३० किलोवाट आवर क्षमताको ब्याट्रीले ३०५ किलोमिटर रेन्ज प्रदान गर्छ भने दोस्रो ३८ किलोवाट आवर क्षमताको ब्याट्रीले सिंगल चार्जमा ४०५ किलोमिटर रेन्ज दिने छ ।
सिगलमा ५ इन्चको इन्स्ट्रुमेन्ट क्लस्टर, १२.८ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ प्याड, दुई वटा कप होल्डर जस्ता सुविधाले सुसज्जित गरिएको छ ।

