काठमाडौं । यूरोपियन अटो जाइन्ट फक्सवागेनले भारतमा आफ्नो ईभी विक्री सुरु गर्ने भएको छ । यूरोप, चीन र अमेरिकामा मात्रै ईभी विक्रीमा जुटेको फक्सवागेनले भारतमा पनि विक्री सुरु गर्न लागेको हो ।
अर्को महिनाबाट भारतमा ईभी विक्री गर्ने योजना बनाएको फक्सवागेनले पहिलो ईभी मोडलको रुपमा आईडी-४ मोडल सार्वजनिक गर्नेछ । भारतीय बजारमा आईडी-४ सार्वजनिक गर्न लागेको विषयलाई फक्सवागेन इन्डियाका ब्राण्ड डाइरेक्टर आशिष गुप्ताले स्विकार गरेका छन् ।
‘फक्सवागेनको ग्लोवल ईभी मोडल आईडी-४ चाँडै भारत आउने छ’, उनले मिडियासँग भनेका छन् । सन् २०२२ मा अपग्रेड सहित आएको फक्सवागेन आईडी-४ निकै सफल मोडलको सूचीमा परिसकेको छ ।
फक्सवागेन आईडी-४ मा ७७ किलोवाट आवरको ब्याट्री रहेको छ । यसमा निकै पवारफुल २२३ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । यसले सिंगल चार्जमा ४८० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ ।
नेपालमा कहिले ?
फक्सवागेनका ईभी तत्काल नेपाल आउने छैन । आधिकारीक विक्रेता पुजा इन्टरनेशनल नेपालका सीईओ विवेक विजुक्छेका अनुसार नेपाल सरकारले केही नीतिगत प्रस्टता गरेपछि मात्रै फक्सवागेनका ईभी नेपाल आउने छन् ।
‘हामी ईभी ल्याउने प्रयासमा छौं । तर, सेफ्टीको विषयमा फक्सवागेनका आफ्नै कुरा छन् । आग्लागी भए के गर्ने, ब्याट्री व्यवस्थापनको तयारी के छ ? जस्ता प्रश्न कम्पनीले गरिरहेको छ’, सीईओ विजुक्छेले भने ।
उनको भनाईबाट पनि फक्सवागेनका ईभी तत्काल नेपाल आउने छैन । साथै, कम्पनीले आईडी-४ जस्ता मोडल ल्याएर विक्री गर्न सक्ने अवस्था छैन । मूल्यका हिसावले आईडी-४ निकै महंगो पर्न जान्छ । यसमा २०० किलोवाट माथिको मोटर रहेको कारण विद्यमान ब्यवस्था अनुसार ४५ प्रतिशत भन्सार र ४५ प्रतिशत अन्तःशुल्क लाग्छ ।

