काठमाडौं । कियाको आधिकारीक विक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिले सेल्टोस कम्याक्ट एसयूभीको मूल्य ८२ लाख ९० हजार रुपैयाँसम्म कायम गरेर विक्री गर्दै आएको छ । कम्पनीले सेल्टोसको जीटीएक्स प्लस अटोमेटीक (डिएसएल) भेरियन्टको मूल्य ८२ लाख ९० हजार कायम गरेको हो ।

यसअघि कियाले ७८ लाख ९० हजार रुपैयाँ मूल्य तोकेर विक्री गर्दै आएको सेल्टोस जीटीएक्स प्लस अटोमेटीकको मूल्य बढेर झण्डै ८३ लाख रुपैयाँ पुगेको हो । कम्पनीले अहिले सेल्टोसको सुरुवाती भेरियन्ट एचटीके (जीएसएल)को मूल्य ५२ लाख ९० हजार कायम गरेर विक्री गर्दै आएको छ ।
त्यसैगरी एचटीके प्लस (जीएसएल)को मूल्य ५७ लाख ९० हजार, एचटीएक्स म्यानुअल भेरियन्टको ६५ लाख ९० हजार, एचटीएक्स आईभीटीको मूल्य ६९ लाख ९० हजार र जीटीएक्स (अप्सनल) प्लस (जीएसएल)को मूल्य ७३ लाख ९० हजार रुपैयाँ कायम गरिएको छ ।
यस्तो छ किया सेल्टोस
निकै स्टाइलिस डिजाइनको कारण चर्चा कमाएको किया सेल्टोस कम्पनीको भारतीय प्लान्टमा उत्पादन भएको पहिलो एसयूभी हो । कियाले सेल्टोसमा स्मार्ट स्ट्रीम जी १.५ लिटर पेट्रोल इन्जिन दिएको छ । उक्त इन्जिनले अधिकतम ६३०० आरपीएममा ११५ पीएस पावर र ४५०० आरपीएममा १४४ एनएम टर्क प्रदान गर्छ । यसमा ६ स्पीड म्यानुयल गियरबक्स दिइएको छ ।
त्यसैगरी यसमा रहेको १.५ लिटर क्षमताको डिजेल इन्जिनले ४ हजार आरपीएममा ११५ पीएस पावर र १५०० देखि २७५० आरपीएममा २५० एनएम टर्क प्रदान गर्छ ।
ग्लोबल एनक्याप क्र्यास टेष्टमा ३ स्टार रेटिङ पाएको सेल्टोसमा दुई एयरव्याग, सिट बेल्ट वार्निङ, हाइस्पीड वार्निङ, इबीडी सहितको एबीएस, स्पीड सेन्सिङ डोर लक, सेन्ट्रल लक जस्ता फिचर रहेका छन् ।
स्टेरिङ एड्जस्ट, हेडलाइट एण्ड इग्नीसन रिमाइन्डर, पार्किङ सेन्सर, गाइडलाइन सहितको रिर्भस क्यामेरा, टच स्कृन इन्फोटेन्टमेन्ट सिस्टम, स्टेरियङ माउन्ट कन्ट्रोल जस्ता फिचर यसमा रहेका छन् ।
कियाको टाइगर नोज ग्रिल, एड्जस्टेवल हेडल्याम्प, एलइडी डेटाइम रनिङ लाइट, फगल्याम्प, १७ इन्चको कभरसहितको स्टील ह्वील र अलोय ह्वील पाउन सकिन्छ ।

