काठमाडौं । चिनियाँ कार निर्माता एसएआईसी ग्रुप, अमेरिकी जनरल मोटर्स र चिनियाँ कम्पनी विलिङ मिलेर उत्पादन बनाइरहेको सानो अफरोड एसयूभी चीनमा बिक्री सुरु भएको छ । मे २५ तारिखमा यो इलेक्ट्रीक कार सार्वजनिक भएको हो ।
बाउजुन ब्राण्ड नेममा ‘याप’ नामले आएको माइक्रो एसयूभी दुई भेरियन्टमा बजारमा आएको छ । कम्पनीले यसको सुरुवाती भेरियन्टको मूल्य ११ हजार २९० डलर र टप भेरियन्टको १२ हजार ७१० अमेरिकी डलर तोकिएको छ ।
झट्ट हेर्दा सुजुकी जिम्नी जस्तै देखिने यो ईभी बक्सी डिजाइनको कारण बजारमा आउनु अगाडि नै चर्चा कमाउन सफल मोडल हो । नितान्त युवा ग्राहक लक्षित यो मोडल निकै आकर्षक देखिन्छ ।
कम्पनीले यसको लम्बाई ३ हजार ३८१ एमएम, चौडाई १६८५ एमएम र उचाई १७२१ एमएम दिएको छ । २११० एमएमको ह्वीलवेस रहेको ‘वाउजुन याप’ मोडलमा ५० किलोवाट क्षमताको मोटर दिइएको छ । यसको पीक टर्क भने १४० एनएम छ ।

कम्पनीले यसमा २८.१ किलोवाट आवर क्षमताको लिथियम आयोन ब्याट्री दिएको छ । उक्त ब्याट्रीले सिंगल चार्जमा ३०३ किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । फास्ट चार्जर सपोर्ट गर्ने यो ईभीलाई ३० देखि ८० प्रतिशत केवल ३५ मिनेटमा चार्ज गर्न सकिन्छ ।
निकै आधुनिक फिचरले भरिपूर्ण यो एसयूभीमा स्मार्ट पार्किङ एसिस्ट, इन्टेलिजेन्ट स्पीड रेगुलेसन फिचर, इन्टेलिजेन्ट ड्राइभिङ सिस्टम जस्ता फिचर उपलब्ध छन् ।


