काठमाडौं । सरकारले ५० किलोवाट माथिको सेग्मेन्टमा कर बढाएसँगै ५० किलोवाटभन्दा तलको सेग्मेन्टमा कडा टक्कर हुने भएको छ । अहिले नेपाली बजारमा ५० किलोवाटभन्दा कम क्षमताका ईभीमा मिनी कार मात्रै छन् ।
विलिङ एयर मिनी र हेनरी जस्ता साना ईभी बजारमा उपलब्ध रहेपनि यी कारलाई फ्यामली कारको रुपमा धेरैले स्वीकार गर्न सकेका छैनन् । कम्पनीले यी कार निकै सानो मोटर पावरमा उपलब्ध गराएको र यी कारको बडी साइज पनि निकै सानो भएको कारण धेरैले ढुक्क भएर किन्न नसकेका हुन् ।
अहिले १०० किलाेवाट भित्रै रहेका र सर्वाधिक रुचाइएको इलेक्ट्रीक एसयूभी महंगो भएसँगै यही सेग्मेन्टमा आउन लागेका सिट्रोन सीथ्री र टाटा टियागो ईभी अब धेरै ग्राहकको राजाईमा पर्न सक्ने मोडल हुन् ।
यी दुबै मोडल भारतमा बिक्री सुरु भइसकेका मोडल हुन् । टियागो ईभी अहिले पनि धेरै ग्राहकले भारतमा बुकिङ गरेर कुरिरहेका छन् । नेपालमा पनि यसप्रति चासो बढ्दो छ ।
त्यसैगरी सिट्रोनले नेपाल ल्याउन लागेको सीथ्री मोडल पनि निकै चर्चा भइरहेको मोडल हो । सीथ्रीको पेट्रोल इन्जिन भएको मोडल केही दिनअघि मात्रै नेपालमा बिक्री सुरु भएको छ । तर, ग्राहकले पेट्रोलभन्दा धेरै ईभीको खोजी गरिरहेको पाइन्छ ।
यस्तोमा नेपाल आउने क्रममा रहेका यी दुई ईभी बीचको प्रतिस्पर्धा निकै आकर्षक हुने अनुमान गर्न सकिन्छ । त्यसको लागि टाटा टियागो ईभी ५ किलोवाट मोटर क्षमता घटेर आउनु पर्ने हुन्छ ।
उत्पादक र बिक्रेता
टाटा भारतीय ब्राण्ड हो । नेक्सन र टिगोर ईभी नेपालमा बिक्री गरेर आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले आक्रमक ‘मुभ’ सुरु गरिसकेको छ । विगत ४० वर्षदेखि नेपालमा सवारीसाधन बिक्री गर्दै आएको सिप्रदीको सर्भिस, नेटवर्क जस्ता पूर्वाधारको कारण कार बिक्रीमा आक्रमक बन्न सहयोग पुगेको देखिन्छ ।
सिट्रोन फ्रेन्च ब्राण्ड हो । फ्रेन्च निर्माताले भारतमा उत्पादन गरेको सीथ्री इलेक्ट्रीक चाँडै ईभीमा विकास गरेको कार हो । पेट्रोलबाट चल्ने सीथ्री बजारमा आएको केही महिनामै ईभी भर्सन पनि बजारमा आएको हो । नेपालको लागि सिट्रोन नयाँ ब्राण्ड नै हो ।
ब्याट्री अप्सन र रेन्ज

टाटाले टियागो २ ब्याट्री अप्सनमा भारतमा बिक्री हुँदै आएको भएपनि नेपालमा एउटा मात्रै अप्सनमा आउने अपेक्षा गरिएको छ । टियागोमा १९.२ किलोवाट आवर र २४ किलोवाट आवरको ब्याट्री छ । सम्भवत नेपाली बजारमा २४ किलोवाट आवरको ब्याट्रीमा टियागो आउने छ । यसले सिंगल चार्जमा ३१५ किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।
सिट्रोन सीथ्रीमा २९ किलोवाट आवरको ब्याट्री प्याक रहेको छ । कम्पनीका अनुसार यसले सिंगल चार्जमा ३२० किलोमिटर रेन्ज दिने दावी गरेको छ । दुबै कम्पनीले दावी जति गरेपनि यी कारले २०० किलोमिटरभन्दा माथि रेन्ज दिने छैन ।
डिसी फास्ट चार्जर सपोर्ट
सिट्रोन सिथ्री अहिले बजारमा उपलब्ध कार मध्ये निरन्तर डिसी चार्जरको प्रयोग गर्न मिल्ने एउटा मात्रै कार हो । यसको इन्जिनियरिङ नै निरन्तर डिसी चार्जर प्रयोग गर्न मिलनेगरी गरिएको सिट्रोनको भनाइ छ ।

लगातार डिसी चार्जरको प्रयोग गर्दा पनि यसको ब्याट्रीलाई कुनै खराबी नगर्ने भएपछि यसलाई ३० किलोवाट क्षमताको चार्जरले १० देखि ८० प्रतिशतसम्म चार्ज गर्न केबल ५७ मिनेट लाग्ने छ ।
टियागो ह्याचव्याक पनि डिसी फास्ट चार्जिङ सपोर्ट गर्ने कार हो । नेपालमा टाटाको डिसी चार्जिङ नेटवर्क पनि धेरै स्थानमा उपलब्ध छ । यसलाई पनि डिसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा १० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिनेछ । सामान्य होम चार्जरले चार्ज गर्दा भने फुलचार्ज गर्न ८ घण्टासम्म लाग्नेछ ।
मोटर पावर
भारतमा बिक्री हुँदै आएको टाटा टियागोमा ५५ किलोवाट क्षमताको मोटर छ । तर, कम्पनीले यसलाई नेपालमा ५० किलोवाट क्षमताको मोटरमा ल्याउन सक्नेछ । यसले १७० न्यूटन मिटरको टर्क प्रदान गर्छ ।

टाटा टियागो ईभीमा सिटी र स्पोर्टस गरी दुईवटा ड्राइभ मोडमा उपलब्ध हुनेछ । टियोगोमा ४ लेबलको रिजेनेरेसन ब्रेकिङ मोड रहेको छ ।
सिट्रोनले सीथ्री मोडलमा ४२.५ किलोवाट क्षमताको मोटर जडान गरेको छ । यो नेपाल सरकारले तोकेको सुरुवाती करको दायरामै आउने छ । यसमा पनि रि जेनेरेटीभ ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।
अन्य फिचर
टियोगो ईभीमा ४५ थरी फिचर रहेको जी(कनेक्ट स्ट्याडर्ड फिचरको रूपमा रहेको छ । एप्पल कारप्ले र एन्ड्रोइड अटो फिचर कनेक्टिभिटी रहेको टियोगो ईभीमा ७ इन्चको हर्मन इन्फोटेन्मेन्ट सिस्टम र ८ वटा स्पीकर रहेको छ ।
टियागो ईभीमा लेदरेटेड सिट, अटोमेटिक क्लाइमेट कन्ट्रोल, रेनसेन्सिङ वाइपर, अटोमेटिक हेडल्याम्प, इलेक्ट्रीक ओआरभीएम, क्रूज कन्ट्रोल, कुल्ड ग्लोवबक्स, पुस बटम स्टार्ट स्टप जस्ता फिचरहरू रहेका छन् ।

सीथ्री इलेक्ट्रीकमा १० इन्चको फराकिलो टच स्क्रृन इन्फोटेनमेन्ट सिस्टमको साथमा सी–बडी कनेक्टिभिटी टेक्नोलोजी, वायरलेस एप्पल कारप्ले र एन्ड्रोइड अटो सपोर्ट गर्ने कनेक्टिभिटी, सिरी तथा गुगल असिस्टेन्ट सहितको भ्वाइस कमाण्ड फिचर उपलब्ध रहने छन् ।
सुरक्षाको लागि ड्यूल एयरब्याग, ईबीडीसहितको एबीएस, रिभर्स पार्किङ सेन्सर, इन्जिन कुलिङ सिस्टम, हाई स्पीड अलर्ट सिस्टम र स्पीड सेन्सिङ अटो डोर लक लगायत पाउन सकिन्छ ।


