कर बढ्यो भनेर पेट्रोल गाडी किन्न को जान्छ ? अर्थमन्त्री डा. महत

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले कर बढाउने मानिसले नै ईभी आयातकर्तालाई फाइदा पुग्नेगरी सूचना चुहाएको आरोपको खण्डन गरेका छन् । मन्त्री महतले इकोनोमिक मिडिया सोसाइटीले काठमाडौं आयोजना गरेको पोस्ट बजेट छलफल कार्यक्रममा उक्त कुराको खण्डन गरेका हुन् ।

यस्ता नचाहिने कुरामा आरोप लगाएर के पुष्टी गर्न खोजेको भन्दै महतले भने, ‘गाडी एक रातमा आउने कुरा हो । गाडी आयातको त लामै प्रक्रिया हुन्छ होलानी । फेरी कर बढाउनेले नै सूचना दिने भन्ने विषय कसरी मिल्छ ? त्यसैले सत्य कुरामा मात्रै औला उठाउँ ।’

मन्त्री महतले १०० देखि २०० किलोवाट क्षमताका मोटर भएको गाडीमा घटाइएको करको विषयलाई कर मिलानको संख्या दिएका छन् । १०० किलोवाटसम्ममा १० प्रतिशत र १०० देखि २०० मा ६० प्रतिशत कर लगाउँदा दुई बीचको अन्तर बढी भएकोले मिलान गरिएको उनले बताए ।

‘अब कर मिलान भयो । दुईवटाको बीचमा केबल १५ प्रतिशत मात्रै फरक छ । त्यसैले सबै किसिमका ईभी आयात सहज भयो’ अर्थमन्त्री महतले भने ।

उनले पेट्रोलियम पदार्थबाट चल्ने गाडीमा २५० देखि ३०० प्रतिशतसम्म कर लगाइएको बताउँदै भने ‘ईभीमा लगाईको १० देखि १२० प्रतिशतसम्म कर कसरी ईभीलाई मार्ने किसिमको भयो । फेरी अहिले बढेको करकै कारण कोही पनि ईभी छाडेर पेट्रोल गाडी किन्न पनि जाँदैनन् ।’


Back_to_top