यी हुन् २०२३ मा धेरै ब्याट्री उत्पादन गर्ने कम्पनी, यस्तो छ बजार हिस्सा

काठमाडौं । विद्युतीय साधनको माग बढ्दै जाँदा त्यसको मुख्य कम्पोनेन्ट ब्याट्रीको उत्पादनमा पनि धेरैले चासो दिदै आएका हुन्छन् । लिथियम आयोन ब्याट्री उत्पादनमा चिनियाँ उत्पादकको बर्चश्व रहेको छ । यस्तोमा सन् २०२३ मा ब्याट्री उत्पानको रेसमा कुन कुन कम्पनी छन् भन्ने चासो हुनु स्वभाविक हो ।

सन् २०२३ को जनवरीदेखि अप्रिल महिनासम्मको चार महिनामा १८२.५ गिगावाट आवर उत्पादन र प्रयोग भएको तथ्यांक सार्वजनिक भएको छ । यो तथ्यांक दक्षिण कोरियाली रिसर्च कम्पनी फ्रिम एसएनई रिसर्चले सार्वजनिक गरेको हो ।

अघिल्लो वर्षको यहि अवधिमा १२२.५ गिगावाट आवर मात्रै ब्याट्री उत्पादन भएको थियो । यो वर्षको चार महिनाको तथ्यांक हेर्दा अघिल्लो वर्षको तुलनामा ४९ प्रतिशतले उत्पादन वृद्धि भएको हो ।

चार महिनामा सबैभन्दा धेरै ब्याट्री सिएटीएलले उत्पादन गरेको छ । कम्पनीले ६५.५ गिगावाट आवर ब्याट्री उत्पादन गरेको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२.१ प्रतिशतले बढी हो । कम्पनीले कुल बजार हिस्साको ३५.९ प्रतिशत उत्पादन एक्लै ओगटेको छ ।

दोस्रो स्थानमा रहेको बीवाइडी २९.४ गिगावाट आवर ब्याट्री उत्पादन गर्दै आफ्नो उत्पादन सुधार गरेको छ । कम्पनीले आफ्नो उत्पादन १०८.३ प्रतिशतले वृद्धि गरेको हो । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले केवल १४.१ गिगावाट ब्याट्री उत्पादन गरेको थियो । बीवाइडीले ब्याट्री उत्पादनमा १६.१ प्रतिशत बजार हिस्सा लिन सफल भएको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५ प्रतिशतले बढेको हो ।

तेस्रो स्थानमा रहेको दक्षिण कोरियाली कम्पनी एलजी इनर्जी सोलुशनले २५.७ गिगावाट आवर ब्याट्री उत्पादन गर्दै आफुलाई ठूलो उत्पादकको तेस्रो स्थानमा उभ्याएको छ । कम्पनीले अघिल्लो वर्षको तुलनामा ४९.३ प्रतिशतले उत्पादन बढाएको हो । एलजीले १४.१ प्रतिशत बजार हिस्सा ओगटेको छ । जुन अघिल्लो वर्षको सोही अवधिमा पनि १४.१ प्रतिशत नै थियो ।

यी तीन ठूला उत्पादक बाहेक जापानी कम्पनी पानाशोनिकले ८.२ प्रतिशत, एसके अनले ५.२ प्रतिशत, सिएएलबीले ४.६ प्रतिशत, सामसङ एसडीआई ४.१ प्रतिशत, गोटन हाई टेकको २.४ प्रतिशत, इभीई इनर्जीको १.८ प्रतिशत, सुनोडाको १.५ प्रतिशत र अन्य कम्पनीले ५.९ प्रतिशत बजार हिस्सा ओगटेका छन् ।


Back_to_top