काठमाडौं । नेपाली बजारमा सिट्रोनको ई-सीथ्रीको बुकिङ खुला भएको छ । नेपालका लागि सिट्रोनको आधिकारिक बिक्रेता साङ्ग्रिला मोटर्सले आज (सोमबार)देखि ई-सीथ्रीको बुकिङ खुलाएको हो ।
कम्पनीले यस गाडीको मूल्य ३२ लाख ९९ हजार रुपैयाँ तोकेर बुकिङ खुलाएको हो । ग्राहकले १ लाख रुपैयाँ ‘टोकन मनी’ दिएर सिट्रोनको ई-सीथ्री बुकिङ गर्न साङ्ग्रिला मोटर्सले जनाएको छ ।
सिट्रोनको ई-सीथ्रीमा २९.२ किलोवाट आवरको लिथियम आयन फोस्फेट ब्याट्री प्याक रहेको छ । फ्रन्टह्वील ड्राइभ सिट्रोन सीथ्रीमा रहेको मोटरले ५७ हर्सपावर तथा १४३ एनएमको टर्क जनेरेट गर्छ ।
सिट्रोनको ई-सीथ्रीको मोटरले यो ईभीलाई जम्मा ६.८ सेकेन्डमा शून्यबाट ६० किलोमिटर प्रतिघण्टाको स्पीडमा गुडाउन सक्छ । यो ईभीको टप स्पीड १०७ किलोमिटर प्रतिघण्टा रहेको छ । सिट्रोनको ई-सीथ्रीमा रिजेनेरेटीभ ब्रेकिङ सिस्टमसहित इको र स्ट्याण्डर्ड गरी दुई ड्राइभिङ मोड रहेको छ ।
एआरएआइका अनुसार ई-सीथ्रीले एक पटकको फुलचार्जमा ३२० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । यो कारलाई रेगुलर ३.३ किलोवाटको एसी चार्जरले चार्ज गर्दा १० घण्टा ३० मिनेटमा फुलचार्ज गर्न सकिन्छ भने डीसी फास्ट चार्जरले चार्ज गर्दा जम्मा ५७ मिनेटमा ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ ।


