काठमाडौं । ‘पिंक कलर’को नेटा भी अब पोखराका सडकमा ट्याक्सीको रुपमा गुड्ने भएको छ । चिनियाँ ब्राण्ड होजोन मोटर्सको क्रसओभर कारलाई चौधरी ग्रुपले पोखरामा ट्याक्सीको रुपमा बिक्री गर्ने भएको हो ।
पर्यटनको हिसावले नेपालकै सर्वाधिक चर्चित र सफल पोखरामा पिंक ट्याक्सी चलाउन लागेको कम्पनीले पुष्टि गरेको छ । कम्पनीले यसको नाम पिंक ईभी क्याव दिएको हो ।
‘पोखरा घुम्न जाने पर्यटकलाई ब्यवसायीले उत्कृष्ट ट्याक्सी सेवा प्रदान गर्न सकुन् भनेर नेटा भीको पिंक कलरलाई ट्याक्सीको रुपमा बिक्री गर्ने निर्णय लिएका हौं । यसले ट्याक्सी ब्यवसायीदेखि पोखरा घुम्ने पर्यटकसम्मले फाइदा उठाउन सक्नेछन्’, सिजी मोटर्सका सीइओ हेमन्त अग्रवालले मेरोअटोसँग भने ।
नेपाल आएको छोटो समयमा नै यसको सडकमा राम्रो उपस्थिति देख्न सकिन्छ । डेडिकेटेड ईभी प्लेटफर्ममा तयार भएको नेटा भी बेबी टेस्लाको झल्को दिने क्रसओभर कम्प्याक्ट कार हो ।
ठूलो साइजको इन्फोटेन्टमेन्ट सिस्टम, बटम बिनाको ड्यासबोर्ड र आरामदायी सिट यसको सबैभन्दा बलियो पक्ष हो । कम्पनीले यसमा ७० किलोवाट पीक पावरको मोटर दिएको छ । यसको मतलव नेटा भीको अधिकतम पावर ९५ पीएस हो । यसमा ३८.५ किलोवाट आवरको लिथियम आयोन एनसीएम ब्याट्री प्याक पाउन सकिन्छ ।
कम्प्याक्ट साइज यसको अर्को विशेषता हो । लम्बाईमा सब फोर मिटर एसयूभीहरु भन्दा पनि लामो नेटा भी चौडाई र उचाईमा अल्ली कम छ । यसको लम्बाई ४०७० एमएम, चौडाई १६९० एमएम र उचाई १५४० एमएम छ । २४२० एमएमको ह्वीलबेस र १६० एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ । नेटा भी क्रसओभरमा १६ इन्चको ह्वील दिइएको छ ।
सुरक्षाको हिसावले पनि नेटा भीमा थुप्रै आधुनिक फिचर पाउन सकिन्छ । एबीएस, इबीडी, पावर विन्डो, सेफ्टी लक, दुई एयरब्याग, सिटवेल्ट रिमाइन्डर, रियर पार्किङ सेन्सर, पार्किङ क्यामेरा र एड्भान्स सेफ्टी फिचरमा इलेक्ट्रोनिक्स स्टेविलिटी कन्ट्रोल, हिल स्टार्ट एसिस्ट, टायर प्रेसर मोनिटर, भेहिकल मेन्टीनेन्स रिमाइन्डर, हाइड्रोलिक ब्रेकिङ सिस्टम पाउन सकिन्छ ।
चौधरी ग्रुपले यसको मूल्य ३८ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बिक्री गर्दै आएको छ । ट्याक्सीको मूल्य भने सार्वजनिक भएको छैन ।

