काठमाडौं । चाडबाडको मुखमा पनि कलङ्की–नागढुङ्गा सडक विस्तार एवं कालोपत्र नसकिँदा जनजीवन अस्तव्यस्त भएको भन्दै स्थानीयवासीले आज सो क्षेत्रमा सडक अवरुद्ध गरी प्रदर्शन गरेका छन् ।
सडक विस्तार शुरु गरेको वषौं बित्दा पनि करीब १० किमी सडकको काम सम्पन्न हुनसकेको छैन । गतवर्ष सर्वोच्च अदालतले सडक विस्तारको जग्गा प्राप्ति गर्दा मुआब्जा दिन सरकारलाई निर्देशन दिएको थियो ।
अदालतको निर्देशन अघि सहमतिमा सडक विस्तारका लागि स्थान छोडेको ठाउँमा पनि कालोपत्र नहुँदा सडकमा सवारी चलाउन एवं हिँड्न नसकिने अवस्थामा पुगेको चन्द्रागिरी नगरपालिकाका प्रमुख घनश्याम गिरीले जानकारी दिए ।
“काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले छनोट गरेको निर्माण व्यवसायीले वर्षौँ बित्दा पनि काम गर्न सकेको छैन, नगरपालिकालाई जिम्मेवारी दिए तीन महिनामा यो सडक बनाउँछौँ, उपत्यका भित्रिने र बाहिरिने प्रमुख मार्गमा सरोकार भएका निकायको ध्यान नजानु लाजमर्दो छ”–उनले भने ।
यो मार्ग भएर दैनिक १५ हजारभन्दा बढी सवारी आवतजावत गर्छन् । कलङ्कीमा निर्माण भएको नेपालकै पहिलो ‘अण्डरपास’ केही दिन सञ्चालन भएर बन्द हुँदा पनि यो मार्गमा चाप बढेको नगरपालिकाले जनाएको छ ।
स्थानीय सचिन पाण्डे पानी परेका बेला हिलाम्मे र घाम लागेका समयमा धुलाम्मे सडक हुने गरेकाले सवारी एवं पैदलयात्रु आवतजावतमा समस्या पर्ने गरेको बताउँछन् । यो सडक विस्तारको जिम्मेवारी शैलुङ कन्स्ट्रक्सनले पाएको छ ।


