काठमाडौं । कुनै समय थियो, स्कुटर भन्ने बित्तिकै महिलाले मात्र चढ्ने दुई पाङ्ग्रे सवारीसाधन भनेर बुझिने गरिन्थो, आजकल त्यो भनाई गलत साबित भइसकेको छ ।
कम्पनीहरुले आर्कषक र पावरफुल स्कुटर उत्पादन सुरुगरेसँगै युवाहरुमा स्कुटरको क्रेज बढ्दै गएको छ । युवा पुस्ताको रोजाईमा स्कुटर परेसँगै नयाँ स्कुटर भित्र्याउन सवारीसाधन बिक्रेता कम्पनी लागिपरेका छन् ।
आर्कषक लुक्स तथा बाइकको जस्तै पावर तथा धेरै ग्राउन्ड क्लियरेन्स भएको स्कुटर आजकल युवाहरुको पहिलो रोजाइमा पर्ने गरेका छ । केहि समय अगाडि मात्र होन्डा ग्राजिया तथा टीभीएस एनर्टक स्कुटर नेपाली बजारमा सार्वजनिक भएको छ ।
यी दुबै स्कुटरमा युवाहरुलार्इ सजिलै आर्कषण गर्ने खालका फिचरहरु रहेका छन् । यहि विशेषताका कारण यी स्कुटरले नेपाली बजारमा राम्रो स्थान पाउने पक्का जस्तै छ । नाडा अटो शो मा लन्च गरिएको एनटर्क अहिले ग्राहकको मागअनुसार उपलब्ध गराउन हम्मे परेको कम्पनीले जनाएको छ ।
त्यस्तै स्कुटर सेग्मेन्टमा युवाहरुको मनमा बस्न सफल भएको अर्को स्कुटर हो एप्रिला एस आर १५० । आर्कषक लुक्स, पावरफुल इन्जिन, धेरै ग्राउन्ड क्लियरेन्सका कारण यसले राम्रो स्थान बनाइरहेको छ ।
आज हामीले यी दुर्इ स्कुटर टीभीएस एनटर्क र एप्रिला एसआर १५० लाई तुलना गरेर देखाउने प्रयास गरेका छौ ।
इन्जिन
१२४.७९ सीसीको सिगंल सिलिन्डर, ४ स्टोक इन्जिन दिइएको टीभीएस एनटर्कले ७५०० आरपीएममा ९.४ पीएस तथा ५५०० आपीएममा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।
त्यस्तै १५४.८ सीसीको सिगंल सिलिन्डर, ३ भल्भको इन्जिन रहेको एप्रिला एसआर १५०ले ६७५० आरपीएममा १०.२ पीएस पावर तथा ५००० आरपीएमा १०.९ एनएम टर्क जेनेरेट गर्छ ।
यो स्कुटर को उच्चगति १०१ किलोमिटर प्रतिघन्टा रहेको छ भने टीभीएस एनटर्कको टप स्पीड ९५ किलोमिटर प्रति घन्टा रहेको छ । यो स्कुटरले ० देखि ६० किलोमिटरको रफ्तार लिन ९ सेकेन्ड लगाउँछ भने एसआर १५० ले ७ सेकेन्ड मात्र लागउँछ । इन्जिनको आधारमा हेर्दा एसआर १५० टीभीएस एनटर्कको तुलनामा केहि पावरफुल देखिन्छ ।
माइलेज
बाइक वा स्कुटर चढ्ने मानिसको सबैभन्दा ठूलो कन्सर्न भनेको त्यसले दिने माइलेज हो । एक पटक मूल्य तिरेर सवार साधन किन्दाभन्दा त्यसको संचालनमा आउने खर्च ठूलो हुनेहुँदा मानिसहरु माइलेजमा केन्द्रित हुने गर्छन् ।
५ लिटर फ्यूल ट्याङकी दिइएको टीभीएस एनटर्क १२५ ले ६० किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ भने, ६.५ लिटरको फ्यूल ट्याङकी दिइएको एसआर १५०ले प्रतिलिटर ४० किलोमिटर माइलेज दिने कम्पनी बताउँछ । यी दुइमा माइजको हिसाबमा टीभीएस एनटर्क उत्कृष्ट देखिन्छ ।
ह्वीलवेश 
यी दुबै स्कुटरको समान १५५ एमएमको ग्राउन्ड क्लियरेन्स रहेको छ । टीभीएस एनर्टक १२५मा १२८५ एमएम र एसआर १५० मा १२९० एमएम रहेका छ । एनटर्कमा १२ इन्च तथा एसआर १५० मा १४ इन्चको अलाय ह्वील रहेको छ । ह्वीलवेस एसआर १५० को केहि राम्रो देखिन्छ ।
अन्य बिषेशता
यी दुबै स्कुटर स्टाइलिस लुक्स भएका स्कुटर हुन् । बाहिरी आवरणमा दुबै स्कुटर उत्कृष्ट रहेका छन् । यी दुबै स्कुटरमा सेल्फ तथा किक स्टार्ट सुबिधा उपलब्ध रहेको छ । साथै दुबै स्कुटरमा फ्रन्टमा डिस्क तथा रियरमा ड्रम ब्रेक उपलब्ध रहेको छ ।
टीभीएस एनटर्क १२५ नेपालमै पहिलो स्मार्ट टेक्नोलोजि यूक्त स्कुटर रहेको छ । यसमा चालकले आफ्नो स्मार्टफोन कनेक्ट गरि फोनकल, एसएमएस तथा जीपीएस सेवासमेत प्रयोग गर्न सक्ने छन् । स्कुटरमा स्पोर्ट मोड दिइएको छ, जसले रेसिङ डाटा, ल्याप समय स्क्रिनमा देख्न सकिन्छ । ३ ट्रिप मीटर, फ्यूल लेवल, स्पीड, इन्जिन टेम्परेचर, र घडीजस्ता फीचर्सहरु नर्मल मोडमा पाइन्छ । उहि एसआर १५० मा एनालग डिस्पे दिइएको छ ।

टीभीएस एनटर्कको तौल ११६ केजी रहेको छ भने एसआर १५० को तौल १२० केजी रहेको छ । एसआर १५० मा हेडल्याम्प हेलोजिन र टेलल्याम्प बल्ब दिइएको छ भने एनटर्क १२५मा एलइडी हेडल्याम्प तथा एलइडी टेलल्याम्प दिइएको छ । यसरी हेर्दा फिचरमा एनटर्क निकै अब्बल रहेको छ ।
मूल्य
हालै मात्र सार्वजनिक भएको टीभीएस एनटर्क १२५ को नेपाली बजार मूल्य २ लाख २४ हजार ९ सय र एप्रिला एसआर १५० को नेपाली बजार मूल्य २ लाख ७६ हजार ९ सय रहेको छ ।
निष्कर्ष
यी दुबै स्कुटरको बिशेषता भनेको यसको डिजाइन तथा पावर रहेको छ । समग्रमा हेर्दा डिजिटल कन्सोलका कारण एसआर १५० भन्दा एनर्टक १२५ उत्कृष्ट देखिएको छ । एसआर १५० स्कुटर १५४.८ सीसीको हुदाँ हुदै पनि यसको पावर एनटर्क १२५ भन्दा केहि मात्र धेरै देखिएको छ । एनटर्कको स्मार्ट प्रबिधिले एसआर १५० लार्इ धेरै पछि छाड्ने देखिन्छ । मूल्यको हिसाबमा एसआर १५० भन्दा एनर्टक ५२ हजार सस्तो रहेको छ ।


