काठमाडौं । अहिले नेपालमा ब्रेक सूको चर्चा भइरहेको छ । एयरपोर्ट भन्सारबाट क्लियरेन्स पाएर सुनका ‘ब्रेक सू’ छुटेसँगै यसको चर्चा चुलिएको हो ।
एयरपोर्ट भन्सारबाट १०० किलोभन्दा धेरै सुन जाँच पास भएको र बाहिर पक्राउ परेपछि उक्त तस्कर समूहले ‘ब्रेक सू’को डब्बा भित्र सुन लुकाएर ल्याउने गरेको पाइएको हो ।
सामान्यतया ड्रम ब्रेकमा ब्रेक सूको प्रयोग गरिन्छ । डिस्क ब्रेकमा भने ब्रेक प्याडको प्रयोग हुन्छ । ‘ब्रेक सू’ नै सुनको बनाएर ल्याएका हुन् वा अन्य तरिका अपनाएका हुन् भन्ने थाहापाउनु अघि ब्रेक सू (डिस्क ब्रेक) का बारेमा चर्चा गरौं ।
डिस्क प्याड
डिस्क ब्रेकको उत्पादन १८९० बाट बेलायतमा सुरु भएको थियो । १९०२ मा पहिलो पटक कारमा डिस्क ब्रेक प्रयोग गरिएको इतिहास पाइन्छ ।
चलिरहेको सवारी साधनलाई कम समयमा नै रोक्नका लागि डिस्क ब्रेक सिस्टमको विकास गरिएको हो । ह्वीलमा प्रयोग हुने डिस्कलाई फ्रिक्सन गराएर स्पीड कम गराउन प्रयोग हुने सानो फिक्सन मटेरियललाई ब्रेक प्याड भनिन्छ ।
जब चालकले गुडिरहेको सवारीलाई रोक्न ब्रेक लगाउँछ तब, डिस्कको दुबैतर्फ भएको प्याडले डिस्कमा फिक्सन गराएर सवारीको गति कम गर्छ । यो सवारी साधन अनुसार सानो र ठुलो साइजमा पाउन सकिन्छ । अहिले भारतमा उत्पादन हुने १२५ सीसीभन्दा माथिका सबै मोटरसाइकलमा डिस्क ब्रेक अनिवार्य छ ।
भारतमा डिस्क अनिर्वाय भएसँगै नेपालमा डिस्क ब्रेक प्याडको आयात हरेक वर्ष बढ्दो क्रममा रहेको छ ।
ड्रम ब्रेक
ड्रम ब्रेक सबैभन्दा पुरानो ब्रेकिङ प्रणाली हो । ड्रम ब्रेक पुराना कार, बस तथा दुई पाङ्ग्रे साधनमा धेरै प्रयोग हुन्थ्यो । अहिले पनि धेरै मोटरसाइकल र कारमा पछाडि ड्रम ब्रेकको प्रयोग भएको पाइन्छ ।
ड्रम ब्रेक एउटा डब्बा भित्र परिचालन हुन्छ । योे ह्वीलसँगै घुम्छ । यसको भित्र भागमा ब्रेक सू रहेको हुन्छ । ब्रेक शू कर्भ आकारको हुन्छ । ब्रेक शूको दुई भागलाई क्यामले छुट्टाएको हुन्छ ।
जव चालकले ब्रेक अप्लाइ गर्छ तब, क्यामले ब्रेक सूमा फिक्सन पैदा गर्छ र ड्रमको स्पीडलाई कम गर्छ । जव ड्रमको स्पीड कम हुन्छ तब मोटरसाइकल वा कार रोकिन्छ । यो डिस्क ब्रेक जस्तो बाहिरबाट नै देख्न सकिदैन, यो प्रक्रिया ड्रमको भित्र नै हुन्छ ।
कसरी आयो सुन ?
मोटरसाइकल र स्कुटरमा प्रयोग हुने ड्रम ब्रेकको भित्र पट्टी सुनलाई लुकाएर ल्याइएको हो । तस्करहरुले ड्रम ब्रेकको डब्बामा राखेर सुन ल्याएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

