काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ५० लाख मूल्यसम्मका निजी कार किन्ने ग्राहकलाई सहज तरिकाले कर्जा दिन जोखिमभारमा परिवर्तन गरेको छ । केन्द्रिय बैंकले यसअघि पेट्रोल कारमा दिइने कर्जालाई १५० प्रतिशत जोखिकभार तोकिएकोमा अहिले २५ लाखसम्मको कर्जामा १०० प्रतिशतमा झारेको हो ।
साना पेट्रोलियम पदार्थबाट चल्ने गाडी किन्न चाहने मानिसले भने बैंकबाट केही सहज तरिकाले कर्जा उपलब्ध गराउन बैंकहरुलाई सहज भएको छ । यसले थलापरेको पेट्रोलियम पदार्थबाट चल्ने कारको ब्यापार बढ्न सक्ने ब्यवसायीहरु बताउँछन् । जोखिमभार कम भएपछि बैंकहरुले कर्जा केही सहज तरिकाले दिन सक्ने छन् ।
गाडी र घर किन्ने एउटा मानिसको मात्रै कमाई देखाएर कर्जा लिनु पर्ने अवस्था छ । यसले ‘फाइनान्स फेलियर’ बढाउँदा ब्यवसाय नहुने अवस्था आएको छ । एकाघरमा श्रीमान-श्रीमती र बाबु-छोराको कमाई जोड्न दिनु पर्छ ।
‘हामीले जोखिमभार र चालु पुँजी कर्जाको विषयमा राष्ट्र बैंकलाई निरन्तर भन्दै आयौं । अहिले साना गाडीमा केही सहजता प्रदान भएको देखिन्छ । तर, यसले गाडीको बिक्री कति बढ्ला । सबै किसिमको गाडीमा जोखिमभार १०० प्रतिशत गरेको भए केहि राहत मिल्थ्यो’, नाडा अटोमोवाइल एशोसिएशन अफ नेपालका अध्यक्ष ध्रुब थापाले मेरोअटोसँग भने ।
केन्द्रिय बैंकले अहिले भइरहेको मूल्यको अनुपातमा ५० प्रतिशत मात्रै कर्जा दिने ब्यवस्थामा सुधार ल्याउनु पर्ने भन्दै नाडाका अध्यक्ष थापाले भने, ‘विगत ४÷५ वर्षदेखि मूल्यको ५० प्रतिशतसम्म मात्रै कर्जा दिन पाउने ब्यवस्थाले कठिन भएको थियो । यसलाई केही सहज बनाई दिन हामीले राष्ट्र बैंकलाई सुझाव दिएका थियौं । त्यो माग सम्बोधन भएन ।’
अहिले जोखिमभार कम गरेर मात्रै समस्या समाधान नहुने तर्क गर्छन् नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ । उनका अनुसार मानिसको आम्दानीको स्रोतलाई परिभाषित गर्नु पर्ने कुरा मुख्य समसया थियो । तर, त्यसो हुन नसकेको उनको भनाई छ ।
‘एउटा घरमा कमाउने २/३ जना हुन सक्छ । तर, गाडी र घर किन्ने एउटा मानिसको मात्रै कमाई देखाएर कर्जा लिनु पर्ने अवस्था छ । यसले ‘फाइनान्स फेलियर’ बढाउँदा ब्यवसाय नहुने अवस्था आएको छ । एकाघरमा श्रीमान-श्रीमती र बाबु-छोराको कमाई जोड्न दिनु पर्छ’, नाडाको फोर ह्वीलर कमिटि सभापति समेत रहेका श्रेष्ठले भने ।
राष्ट्र बैंकले कुनै पनि ब्यक्तिले मासिक किस्ता तिर्नेगरी कर्जा लिँदा आफ्नो मासिक कमाईको ५० प्रतिशतभन्दा बढी इएमआई हुनेगरी कर्जा सुविधा लिन पाउँदैनन् । ब्यक्तिगत कर्जा अधिकांशले घर र गाडी किन्न लिने गरेको पाइन्छ । एउटा घरमा थुप्रै सदस्य बस्ने भएपनि एउटाको मात्रै कमाइलाई आधार मान्ने गरिएको छ । परिवारको अन्य सदस्यको स्राेत खुल्ने आम्दानी गणना गर्न पाउनु पर्ने ब्यवसायीहरुले माग गर्दै आएका छन् ।
विगत दुई आर्थिक वर्ष निरन्तर ओरालो लागेको अटोमोवाइल बजार अझै कसरी अगाडि बढ्छ एकिन गर्न सक्ने अवस्था छैन । नेपाल राष्ट्र बैंक र सरकारको नजरमा सबैभन्दा अनुत्पादक क्षेत्रमा परेको अटोमोवाइल ब्यवसायमा लगानी गर्नेहरु आत्तिन थालेको अवस्था छ ।


