काठमाडौं । नेटा भीको फेसलिफ्ट मोडल आउने भएको छ । होजोन मोटर्सले बनाएको क्रसओभर नेटाभीको फेसलिफ्टपछि डिजाइन र नाम नै परिवर्तन हुने भएको हो ।
कम्पनीले बाहिर ल्याएको तस्बिरको अनुसार यसको नयाँ नाम ‘नेटा एवाईए’ हुने छ । फेसलिफ्ट नेटामा नयाँ दुई प्रकारको एक्टेरियर कलर र नयाँ इन्टेरियर डिजाइन हुने भएको हो ।
‘डेडिकेटेड एचपीसी प्लेटफर्म’मा आधारित नेटा भी सन् २०२० बाट चीनमा बिक्री सुरु भएको ईभी हो ।
कम्पनीले अर्को महिना यसको फेसलिफ्ट मोडल बिक्री सुरु गर्दैछ । सानो र सुन्दर डिजाइनको यो कारको फेसलिफ्टमा अगाडि ठूलै परिमार्जन रहने छ । माथिल्लो भागमा ईभीलाई प्रतिनिधित्व गर्ने क्लोज ग्रिल र तल्लो भागमा नयाँ डिजाइनको ट्रापेजोडिया सेपको डट म्याट्रिक्स प्याटर्न नेटा एवाईएमा पाउन सकिन्छ ।
साइडमा हेर्दा यसको फ्रन्ट फेन्डरमा चार्जिङ पोर्ट दिएको छ । त्यस्तै नयाँ नेटामा नयाँ डिजाइनको १६ इन्च डबल फोर स्पोक अलोय ह्वील पाउन सकिन्छ ।
कम्पनीले यसको मुख्य परिवर्तन पछाडिको भागमा गरेको छ । पछाडि नयाँ डिजाइनको कनेक्टेड टेललाइट, माथि रुफमा बे्रक लाइट सहितको स्पोइलरले गाडीको लुक्समा परिवर्तन ल्याएको छ ।
नेटा एवाईएको लम्बाई ४०७० एमएम, चौडाई १६९० एमएम, उचाई १५४० एमएमको रहेको छ । यो कारको ह्वीलवेस भने २४२० एमएम रहेको छ । ५ सिट क्षमताको कारको तौल भने १ हजार १५१ किलोग्राम छ ।
कम्पनीले ‘चाइनीज मिनीस्ट्री आफ इन्डष्ट्री एण्ड इन्फर्मेसन टेक्नलोजी’मा बुझाएको डाटा अनुसार नयाँ कारमा ४० किलोवाट र ७० किलोवाटको दुई मोटर अप्सन रहने छ ।
कम्पनीले यसमा अहिले रहेको एनएमसी ब्याट्रीको सट्टामा लिथियम आयोन फस्फेट ब्याट्रीको प्रयोग गर्नेछ । नयाँ ब्याट्रीको रेन्ज भने ३१८ किलोमिटर हुने बताइएको छ ।
फेसलिफ्ट नेटाको इन्टेरियरमा परिवर्तन हुने भनिएता पनि यसको इन्टेरियरको बारेमा भने कुनै आधिकारीक जानकारी प्राप्त भएको छैन ।

