काठमाडौं । टीभीएसले काठमाडौंका केही शोरुमहरुबाट टीभीएसको पहिलो इलेक्ट्रीक स्कुटर आइक्यूवको विक्री सुरु गरेको छ । कम्पनीले आइक्यूवको एस भेरियन्टको विक्री सुरु गरेको हो ।
टीभीएस मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले ४ लाख २९ हजार ९०० रुपैयाँ निर्धारण गरेर आइक्यूब एक वर्षको किस्तामा किन्ने मानिसले मासिक १९ हजार ४०० रुपैयाँ किस्ता तिर्नु पर्ने हुन्छ ।
कम्पनीका अनुसार आइक्यूब स्कुटरको मूल्य ४ लाख २९ हजार ९०० रुपैयाँ तोकिएको छ । यसलाई फाइनान्समा किन्न चाहने ग्राहकले ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ । ग्राहकले २ लाख १४ हजार ९५० रुपैयाँ डाउन पेमेन्ट बुझाएपछि बाँकी त्यति नै रकम कर्जा सुविधा पाउने छन् ।
उक्त कर्जा ग्राहकले १२ महिनादेखि २४ महिनासम्मको किस्तामा बुझाउन सक्नेछन् । १२ महिनाको किस्तामा कर्जा तिर्नेले १५ प्रतिशत ब्याज तिर्नु पर्ने हुन्छ । त्यस्तै, १८ र २४ महिनाको किस्तामा बाँकी रकम बुझाउने ग्राहकले १८ प्रतिशत ब्याज तिर्नु पर्ने कम्पनीले जानकारी दिएको छ ।
१२ महिनाको किस्तामा किन्ने ग्राहकले मासिक १९ हजार ४०० रुपैयाँ र २४ महिनाको किस्ता बुझाउन चाहनेले मासिक १० हजार ७३० रुपैयाँ हाराहारी किस्ता बुझाउनु पर्नेछ ।
यस्तो छ आइक्यूव
टीभीएस आइक्यूवमा ३.०४ किलोवाट आवरको आइपी ६७ प्रमाणित लिथियम आयोन ब्याट्री रहेको छ । उक्त ब्याट्रीलाई एक पटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दावी छ ।
यसमा प्रयोग गरिएको ब्याट्रीलाई सामान्य चार्जरमा चार्ज गर्दा ४ घन्टामा ८० प्रतिशत चार्ज गर्न सकिने कम्पनीले जनाएको छ । त्यस्तै फास्ट चार्जरको प्रयोगले यसलाई २ घन्टा ३० मिनेटमा ८० प्रतिशत चार्ज गर्न सकिन्छ ।
आइक्यूवमा ३ किलोवाट क्षमताको मोटर रहेको छ भने यसले १४० एनएम पीक टर्क जेनेरेट गर्छ । यसको टप स्पीड क्षमता ८२ किलोमिटर प्रतिघन्टा रहेको छ ।
टीभीएस आइक्यूबमा ५ इन्चको टीएफटी डिस्प्लेका स्मार्ट कनेक्ट फिचर उपलब्ध रहेको छ । स्कुटरमा रिभर्स सहितको पावर तथा इकोनोमी मोड पाउन सकिन्छ ।

