काठमाडौं । भारतीय अटो ब्राण्ड टीभीएसले बीउमडब्लूको सीई-०२ कन्सेप्टमा आधारित इलेक्ट्रीक स्कुटर भारतमा उत्पादन गर्ने भएको छ । कम्पनीले सीई-०२ को उत्पादन र बिक्री वितरण बीएमडब्लू र टीभीएस दुबै ब्राण्डबाट गर्ने भएको हो ।
टीभीएस र बीएमडब्लूले प्लेटफर्म सेयर गरेर यसअघि ३१० सीसीका मोटरसाइकल भारतमा उत्पादन र बिक्री वितरण गर्दै आएको छ । यसले भारतीय र जर्मन ब्राण्डले मिलेर उत्कृष्ट उत्पादन बजारमा दिइरहेका छन् ।
टीभीएस र बीएमडब्लूको साझेदारीमा आउने यो दोस्रो प्लेटफर्म हो । पहिलो प्लेटफर्म इन्टरनल कम्बस्चनमा आधारित थियो भने नयाँ प्लेटफर्म ईभीको लागि डेडिकेटेड हो । यी दुई कम्पनीले सहकार्य गर्ने घोषणा गर्दा नै नयाँ टेक्नोलोजी र विद्युतीय साधनको विकासमा जोड दिने बताएका थिए ।
बीएमडब्लूले केही समय अगाडि मात्र देखाएको यो स्कुटरको उत्पादन मोडलमा १५ हर्षपावरको मोटर र यसको टप स्पीड ९५ किलोमिटर प्रतिघन्टा हुनेछ । यसलाई सिंगल चार्जमा ९० किलोमिटरसम्म चलाउन सकिने छ ।
टीभीएसले केही दिनअघि मात्रै अगष्ट २३ मा नयाँ इलेक्ट्रीक दुई पाङ्ग्रे सार्वजनिक गर्ने कार्यक्रम राखेको छ । यहि मितिमा नयाँ घोषणा गर्न सक्ने अनुमान गरिएको छ ।

