काठमाडौं । नेपालमा विद्युतीय साधनको प्रयोग सुरु भएको लामै इतिहास छ । ट्रली बसदेखि ब्याट्री टेम्पोसम्म आइपुग्दा खासै चर्चामा नरहेको विद्युतीय साधन निजी कारको रुपमा आउन थलेपछि भने चर्चा चुलिएको हो ।
अहिले नेपालमा एक दर्जन हाराहारी कम्पनीले विद्युतीय कार बिक्री गर्दै आएका छन् । सन् २०१० मा महिन्द्रा, २०१७ मा बीवाइडी, २०१८ मा हुन्डाई, २०१९ मा एमजी, २०२० मा किया, २०२१ मा टाटा, २०२२ मा नेटाले विद्युतीय साधन नेपाल ल्याएर ग्राहकलाई आकर्षित गरे ।
यी कम्पनीको विद्युतीय साधनमा ग्राहक आकर्षित गरेसँगै आर्थिक वर्ष २०७९–८० मा पेट्रोलियम पदार्थबाट चल्ने कारको तुलनामा विजुलीबाट चल्ने कार धेरै आयात भयो । बजारमा विद्युतीय कारको संख्या वृद्धिसँगै पहिला ईभी किन्ने ग्राहकले सट्टा पट्टा गर्ने वा सेकेन्ड ह्याण्ड बजारमा लगेर बिक्री सुरु गरेका छन् ।
अहिले हुन्डाई, एमजी र टाटाका एकाध यूनिट ईभी सेकेन्ड ह्याण्डमा आउन थालेका छन् । तर, महिन्द्राले बिक्री गरेको इटुओ एउटा ब्यक्तिबाट अर्को ब्यक्तिले किनबेच गरिरहेका छन् ।
यदि तपाईँ पनि सेकेन्ड ह्याण्ड बजारबाट ईभी किन्दै हुनुहुन्छ भने निम्न कुरामा ध्यान दिनु होला ।
१. ब्याट्री हेल्थः विद्युतीय गाडीको सबैभन्दा महत्वपूर्ण पार्टस् भनेकै ब्याट्री र मोटर हो । मोटरमा अहिलेसम्म खासै समस्या देखिएको छैन । तुलनात्मक रुपमा मोटरमा समस्या आउने सम्भावना पनि न्यून हुन्छ । त्यसैले सेकेन्ड ह्याण्ड गाडी किन्नु पहिले ब्याट्रीको हेल्थ चेक गर्नुहोस् ।

ईभीमा प्रयोग भएको ब्याट्री मूल्यको हिसावले पनि निकै महंगो पर्छ । यदि गाडीमा ७० प्रतिशतभन्दा कम ब्याट्री हेल्थ बाँकी छ भने मूल्य लगाउँदा विचार गर्नु होला । जति पुरानो गाडी हुँदै जान्छ, ब्याट्री ड्रेनपनि छिटो हुने भएको कारण यसमा ध्यान दिएर मूल्य लगाउनु होस् ।
२. गाडी उठाएर हेर्नुहोस्ः विद्युतीय गाडी निकै कम ग्राउन्ड क्लियरेन्स भएका हुन्छन् । त्यसमा नेपालको बाटोमा रहेका खाडल र अग्ला ढिस्काले गाडीको तल निकै छोएको हुनसक्छ ।

छोएको छ भने ब्याट्रीलाई दिएको कभरहरुको अवस्था के छ राम्रोसँग हेर्नु होला । ब्याट्री कभरमा समस्या छ भने सर्भिस सेन्टरमा भएका इन्जिनियरसँग सल्लाह लिनुहोस् । इन्जिनियरको सल्लाहले तपाईलाई गाडीको मूल्य लगाउन सहयोग पुग्नेछ ।
३.सर्भिसको अवस्था बुझ्नुहोस्ः तपाईँले किन्न खोज्नु भएको गाडीको विगतमा भएका सर्भिस दुरुस्त छ वा छैन एकिन गर्नु होस् । किनकी लामो वारेन्टी अवधि भएका विद्युतीय साधन कम्पनीले तोकेको समयमा सर्भिसिङ भएको छैन भने कम्पनीले वारेन्टी नदिन सक्छ ।

त्यसैले ईभीको सर्भिस हिस्ट्री निकै महत्वपूर्ण मान्छि । अहिले कम्पनीहरुले गाडीको अन्य पार्टस्मा ५ वर्ष र ब्याट्रीमा ८ वर्ष वा १ लाख ५० हजार किलोमिटरसम्म वारेन्टी दिदै आएका छन् ।
यसका अलावा सेकेन्ड ह्याण्ड ईभी किन्नु अघि तपाईले किन्न खोजेको ब्राण्डले नेपालमा उपलब्ध गराएको सर्भिस सुविधा, पार्टस् उपलब्धता र उसको ब्राण्ड भ्यालुलाई पनि ध्यान दिनु पर्नेछ ।

