टाटा नानो ईभीमा आउने संकेत

काठमाडौं । टाटाले उत्पादन बन्द गरेको ‘टाटा नानो’ भविष्यमा पुनः बजारमा आउने सम्भावना बढेको छ । टाटाले नानोलाई विद्युतीय कारको रूपमा कमब्याक गर्न सक्ने संकेत मिलेको हो ।

यद्यपि कम्पनीले आधिकारिक रूपमा यसको घोषणा गरिसकेको छैन । तर, टाटा मोटर्सका इन्डिया डिजाइन हेड अजय जैनको हालैको अभिव्यक्तिले नानो ईभीको रूपमा पुनः आउनसक्ने संकेत गरेको हो ।

एबीपी अटो लाइभसँगको अन्तर्वार्ताका क्रममा जैनलाई ‘के नानो पुनः फर्कन सक्छ?’ भनी प्रश्न सोधिएको थियो । जवाफमा उनले ‘ट्राइ करेंगे’ (प्रयास गर्नेछौँ) भनेका थिए । उनले नानो एक अत्यन्तै नवप्रवर्तनकारी कार भएको र यसले भारतलाई विश्वको अटोमोबाइल नक्सामा स्थापित गराएको उल्लेख गर्दै यसलाई पुनः विद्युतीय अवतारमा विश्वसामु प्रस्तुत गर्न पाउनु खुसीको कुरा हुने बताए।

‘मलाई लाग्छ नानो एउटा अविश्वसनीय रूपमा नवीन कार हो जसले भारतलाई नक्सामा राख्यो,’ उनले भने, ‘केही वर्षमा तपाईंहरूसँग बसेर टाटा नानोलाई फेरि डिजाइनमा राख्न पाउनु मेरो लागि खुशीको कुरा हुनेछ, सायद विद्युतीय अवतारम संसारले देख्न सक्नेछ ।’

उनको यी अभिव्यक्तिले टाटा नानो ईभी विकासको क्रममा छ भन्ने पुष्टि गर्दैनन् । तर, भविष्यमा नानो नेमप्लेट फिर्ता ल्याउने सम्भावनालाई संकेत गर्छ ।

सन् २००९ देखि बिक्री सुरु भएको टाटा नानो सन् २०१८ देखि उत्पादन बन्द भएको थियो । टाटाले नानोलाई विश्वकै सबैभन्दा सस्तो कारको रूपमा बजारीकरण गरिएको थियो। तर, यही पहिचान पछि गएर यसको व्यापारिक चुनौती बन्यो। अधिकांश ग्राहकहरूले अलि बढी बजेट थपेर ठूला ह्याचब्याक रोजेका कारण नानोले सोचे जस्तो सफलता पाउन सकेन।

तर, अहिले बजारको स्थिति पूर्ण रूपमा फेरिएको छ । सहरी क्षेत्रमा साना, चुस्त र वातावरणमैत्री विद्युतीय कारहरूको माग ह्वात्तै बढेको छ । यस्तो अवस्थामा टाटाले नयाँ नानोलाई सबैभन्दा सस्तो गाडीको रूपमा नभई सहरका लागि उपयुक्त, आधुनिक र किफायती सिटी ईभीको रूपमा स्थापित गर्न सक्नेछ ।

हाल टाटाको प्रोटोफोलियोमा टिगोर, टियागो, नेक्सन, पञ्च, कर्भ, सियरा र ह्यारीयर गरी ७ ईभी मोडल छन् । तथापि, टियागो ईभीभन्दा सस्तो मूल्यको श्रेणीमा अझै पनि एउटा सानो र पहुँचयोग्य ईभीको खाली ठाउँ छ । नानो ईभीले सो ठाउँ लिन सक्नेछ ।

उत्पादन बन्द भएको वर्षौं बिते पनि अझै सामाजिक संजालमा नानोका आधुनिक एआई जनरेटेड तस्बिरहरू भाइरल भइरहेका छन् । यसले नानोप्रति मानिसहरूको भावनात्मक सम्बन्ध र अपेक्षा अझै जीवितै रहेको देखाउँछ ।

टाटाले यसअघि पनि कोइम्बटुरस्थित जयम अटोमोटिभ्ससँगको सहकार्यमा ‘जयम नियो’ नामबाट नानोको इलेक्ट्रीक भर्सन तयारी गरी परीक्षण गरिसकेको थियो । १७ किलोवाट आवर ब्याट्री प्याक र १३० किमी रेन्ज दिने उक्त ईभीलाई टाटाले मिनी ईभी प्लेटफर्ममा ढाल्न सकिन्छ भन्ने प्रमाणित गरिसकेको छ ।


Back_to_top